सम्पादकीय
नेपालमा हात्ती संरक्षित जीवको सूचीमा छ । संरक्षित सुचीमा रहेको हात्तीको ठूलो बथानले पछिल्लो समयमा कोशी प्रदेशका खासगरी तराईका जिल्लाम आतंक नै मच्चाएको छ । करिब एक महिनाको अबधिमा २ वटा हात्ती मारिएको छ । खासगरी भारतबाट झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेको हात्तीको समूहले यसबीच ६ जनाको ज्यानसमेत लिएको छ भने ठूलो धनमालको क्षति गरेको छ । यति भएपनि हात्तीमाथिको आक्रमण दण्डनीय छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस्ता वन्तजन्तुको सिकार गर्न निषेध गरेको छ । कानुनतः बौलाएको अवस्था, नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अंगभंग भएकालाई तोकिएको अधिकारीको आदेशले मात्रै मार्न वा पक्रन पाइन्छ । वनक्षेत्रबाहिर आई मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नुपर्ने ठह¥याएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिन्छ । त्यो अवस्था बाहेक हात्तीलाई मार्नु अपराध हो ।
झापा र मोरङमा जंगली हात्ती मानव बस्ती पसेर धनजनको क्षति हरेक वर्ष गर्दै आएको छ । तर, विज्ञहरुले भने हात्ती मानव बस्तीमा प्रवेश गरेको नभई हात्तीको बाटोमा मानब बस्ती बसालिएकोले यस्तो अवस्था आएको बताउँदै आएका छन् । हात्तीले आफ्नो बाटो कहिल्यै नभुल्ने र सँधै एउटै बाटोबाट हिँड्ने गरेको बताइन्छ । अर्कोतिर पछिल्लो समयमा जंगलमा हात्तीको लागि आवश्यक खाद्य सामाग्रीको अभाब भएकोले भोकाएको हात्ती गाउँबस्तीमा प्रवेश गर्दै आएको विज्ञहरु बताउँछन् । भारतमा खाद्यान्नको अभाबमा भोकाएको आत्तीको हूल आहारा खोज्दै नेपाल आउने गरेको छ । अहिले मानव–वन्यजन्तु द्वन्द्व बढिरहँदा जनधन जोगाउनुपर्ने चुनौती त छ नै त्यसमाथि संरक्षित जीवलाई बचाउनुपर्ने अवस्था पनि छ । मोरङको सुन्दरहरैंचामा सोमबार मात्रै गोली हानेर मारेको अवस्थामा जंगली हात्ती भेटिएको छ । जसको पुच्छर गायब छ । हात्तीको पुच्छर लाखौंमा बिक्री हुने भएकोले गोली हानेर हत्या गरिएको आशंका गरिएको छ ।
नेपालमा तराईंमा हात्ती, बँदेल, पहाडमा भालु, बाँदरसहित जंगली वन्यजन्तुले धनजनको क्षति गर्दै आएका छन् । त्यस्ता वन्यजन्तुले क्षति पु¥याएर राहत दिन सरकारले निर्देशिका जारी गरेको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भए २० हजार र गम्भीर घाइते भए २ लाखसम्म औषधोपचार खर्च दिने कानुनी व्यवस्था छ । यस्तै शारीरिक रुपमा अशक्त भए जीविकोपार्जन खर्च ५ लाख र कसैको ज्यान गए १० लाख रुपैयाँ राहत दिने भनिएको छ । अन्न, घरगोठ र खाद्यान्न बालीमा छुट्टाछुट्टै राहत रकम प्रदान गरिन्छ । त्यसैले हात्तीले धनमालको क्षति गर्नलाग्यो भनेर उसलाई धपाउने र जिस्काउने कार्य गर्नु हुँदैन । आफ्नो ज्यान जोगाउन भने सचेत हुनुपर्छ । जनधनको क्षति हुन नदिने अवस्था बनाउने प्रयास गर्नुपर्छ ।
हात्ती किन मानव बस्ती पसेर स्थानीयवासीलाई आतंकित बनाइरहेको छ भन्ने अध्ययन र अनुसन्धानको खाँचो । जंगलमा आहाराको अभाबले हात्ती मानव बस्तीमा आएको बताइन्छ । त्यसैले जंगलमा हात्तीको लागि आहारा हुने खालको बोटविरुवा लगाउनुपर्छ । मानवीय स्वभाव र व्यवहारकै कारण हात्ती आक्रमण बढेकोले त्यसमा सचेत हुनुपर्छ । हात्ती धपाउन अनेक हतकण्डा अपनाउँदा आक्रोशित र हिंस्रक बन्ने गरेको विज्ञहरुको भनाइ छ । हात्तीको जैविक मार्गमा अवरोध मानिसले नै गरेकोले हात्तीको परम्परागत बासस्थान र बाटो संरक्षणमा ध्यान दिनुपर्छ । हात्तीबाट जनधनको क्षति नहुने अवस्था बनाउन राज्यले गम्भीर रुपमा काम गर्नुपर्छ ।