कानेपोखरीमा बेथिति : सूचना लुकाएर करार सुचीका शिक्षकलाई नियुक्त नगर्न जालझेल

विराटनगर । शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाले जालसाज गरी सूचना लुकाएको पाइएको छ । सार्वजनिक सूचना प्रकाशन नगरी परीक्षा सञ्चालन गर्ने प्रपञ्च मिलाएर करार सूचिका छ जना शिक्षकहरुलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गरिएको थियो ।

सेटिङमा शिक्षक नियुक्त गर्न कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकारी र विद्यालयका प्रधानाध्यापकसमेतले मिलेमतो गरेको स्थानीयले आरोप लगाएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–४ मिलन चोकमा रहेको पञ्चकन्या आधरभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको परीक्षामा आर्थिक चलखेल भएको पाइएको छ ।

विमला पौडेलले राजीनामा दिएपछि रिक्त रहेको एक जना राहत शिक्षक नियुक्तिको परीक्षामा करार सूचिका ६ जना शिक्षकलाई बन्चित गराएर गाउँपालिकाले परीक्षा लिएको पाइएको हो ।रिक्त रहेको एक जना प्रा.वि. तृतीय राहत अनुदाको शिक्षक नियुक्तिको विज्ञापन विद्यालयले कार्तिक १० गते सूचना गोप्य रुपमा प्रकाशित गरेको छ । तर, उक्त विज्ञापनको सूचना विद्यालय र गाउँपालिकाको वेवसाइट, पत्रपत्रिका र कार्यालय कतै टाँस गरिएको छैन । करार सूचिका शिक्षकहरुले निवेदन दिने समयसीमा सकिएपछि मात्र कार्तिक १६ गते विद्यालयका प्रधानध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरी स्तरीय प्रधानाध्यापकहरुको फेसबुक ग्रुपमा हालेका छन् ।
कानेपोखरीमा करार सूचिका शिक्षकहरू ६ जना रहेका छन् । करार सुचि नम्बर ११६ मा रहेका कानेपोखरी ३ का नवराज सुवेदी, २९ नम्बरका करार सूचीका युवराज सापकोटा, कानेपोखरी ५ का २८ नम्बर करार सूचीका तेइन्द्र कुमार बास्तोला, कानेपोखरी ७ का ९१ नम्बर करार सूचीका विना कुमारी बुढाथोकी र सोही वडाका ७२ करार सूचीमा रहेका सीतादेवी खड्का रहेका छन् ।

शिक्षा नियमावलीको उपनियम १ मा आयोगबाट प्रकाशित सूचीमा करारका लागि हुने उम्मेद्वार नरहेमा वा सूचीमा समावेश भएका उम्मेद्वारको शिक्षक पदमा नियुक्ति हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्ने उल्लेख छ ।

शिक्षा नियामवलीमा व्यवस्था नभएको नियमलाई विद्यालयले २ महिना अघि विज्ञापन गर्दा विज्ञापन प्रकाशन गरेको मितिले करार सूचीका उम्मेदवारलाई ७ दिन भित्र कार्यालयमा सम्र्पक गर्न र करार सूचीका नआए मात्र अन्यले आवेदन दिन पाउने विज्ञापनमा उल्लेख गरेको छ ।गाउँपालिकाको शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले र विद्यालयका प्रधानध्यापक भरत राजवंशीले आर्थिक चलखेल गरेर करार सूचिका शिक्षकहरुलाई राहत शिक्षक नियुक्ति प्रक्रियामा सामेल नगराउने उद्देश्यले विज्ञापन गुपचुप राखेको पाइएको छ । करार सूचिका योग्य उम्मेदवारलाई परीक्षाबाट पाखा लगाएर गाउँपालिका शिक्षा शाखाका प्रमुख काफ्लेले मोटो रकम लिएर सुन्दरहरैचाबाट शिक्षक नियुक्ति गरेको स्रोतको दाबी छ ।

करार सूचिका शिक्षकले निवेदन दिने समय सकिएपछि विज्ञापन सार्वजानिक गरेको दुई महिनापछि मात्र पुस ९ गते लिएको परीक्षा लिए । परीक्षामा ६ जना सहभागि भए । जसमा दुर्गा बोहरा, नवराज सुवेदी, भूमिका अधिकारी, शोभा कोइराला, सन्तोष भट्टराई र सुनिता कार्कीले लिखित परीक्षा दिए । उनीहरू मध्ये शोभा कोइरालालाई उत्तिर्ण भए । वैकल्पिकमा सन्तोष भट्टराई रहेका छन् ।नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीका अध्यक्ष धर्मराज थापाले राहत शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएकोले गाउँपालिकाले नियुक्ति प्रक्रिया रोक्नुपर्ने बताए । ‘राहत शिक्षक पदपूर्तिको लागि खुलाको विज्ञापन गुपचुप राखेर करार सूचिका योग्य उम्मेदवारहरुलाई बन्चित गराउने प्रयत्न भएको छ,’ उनले भने, ‘आर्थिक चलखेल गरेर लिएको यो परीक्षा रद्ध गरेर करार सूचिका योग्य उम्मेदवारलाई नियुक्ति गर्नुपछ । यस विषयमा हामीले गाउँपालिकाको पनि ध्यानकार्षण गराएका छौ ।’

प्रधानाध्यापक भरत राजवंशीले शिक्षा शाखाका प्रमुखको कार्यव्यस्तताले परीक्षा ढिलो भएको बताए । विज्ञापन प्रकाशन बारेमा फेसबुकमा ढिलो भएपनि विद्यालय र वडाकार्यालयमा समयमै टास गरिएको उनको दाबी छ ।कानेपोखरी शिक्षा शाखा अधिकृत वेगबहादुर काफ्लेले भने विज्ञसहितको शिक्षक छनौट समितिले राहत शिक्षक छनौट गर्ने भएकाले यस विषयमा कुनै चलखेल नभएको दाबी गरे । ‘करार सूचिका शिक्षकबाट निवेदन नपरेपछि परीक्षा भएको हो,’ उनले भने, ‘विज्ञापन प्रकाशित भएको दिन म हस्पिटलमा भएकाले साइटमा हाल्न नपाएको हो ।’ अहिले शिक्षक नियुक्ति भइनसकेकोले विज्ञान आव्हानमा गल्ती भएको हुनसक्ने भएकाले सच्याउन पनि लागि परेको उनले बताए ।

कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले राहत शिक्षकको परीक्षाको विषयमा अध्ययन भइरहेको बताए । ‘अहिले शिक्षक नियुक्ति भइसकेको छैन । करार सूचिका शिक्षकहरुको पनि कुरा आइरहेको छ,’ उनले भने, ‘यसमा हामी पुनःविचार गर्नेछौं ।’ राहत शिक्षक नियुक्ति भएपछि दिगो हुने भएकाले नियुक्ति प्रक्रियामा आर्थिक चलखेल हुने गरेको शिक्षकहरु बताउँछन् ।

बिहिबार, १२ पुष, २०८०, दिउँसोको ०१:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर