सम्पादकीय
भर्खरै महिला हिंसा विरुद्धको दिवस मनाइयो । तर, महिलामाथि हिंसाका घटनाहरु रोकिएका छैनन् । सामाजिक परिवेस र पुरुषप्रधान समाजले महिलामाथि निरन्तर हिंसा गरिरहेको छ । हिंसालाई कानुनले दण्डनीय अपराध मानेको भएपनि समाजमा हिंसाका घटना भइ नै रहेका छन् । समाजका पढेलेखेका र जान्नेबुझ्ने हौं भन्नेले नै हिंसालाई बढावा दिइरहेको उदाहरणहरु भेटिन्छन् । जसले गर्दा महिलाहरुले अन्यायपूर्वक बाच्नुपर्ने बाध्यता छ । एकातिर हिंसाविरुद्ध आवाज उठाउन सामाजिक परिवेसको डरले नसक्ने र आवाज उठाएपनि परिवार र समाजले त्यसलाई दबाउने अवस्था बिद्यमान छ ।
झापाको बुद्धशान्तिमा महिला हिंसाको त्यस्तै एक घटना सार्वजनिक भएको छ । स्थानीय एक युवतीलाई छिमेकी युवाले ललाईफकाई गर्भवती बनाएपछि सामाजिक दबाबमा विवाह गरेपनि अलपत्र पारेका छन् । बुद्धशान्ति २ कि टिका सुवेदीलाई बुद्धशान्ति ३ का पुरन भट्टराईले गर्भवती बनाएर अलपत्र पार्न खोजेपनि समाजको दबाबको कारण विवाह गरेका थिए । तर, विवाहपछि जन्मिएको छोरीलाई बिक्री गरेर टिकालाई पनि अलपत्रै छाड्न प्रयास गरेको सार्वजनिक भएको छ । गत भदौ २५ गते छोरी जन्मिएकोमा भट्टराई परिवारले आमाछोरीलाई भारतको सिक्किम लगेकोमा नवजात छोरीलाई बिक्री गरेर फर्किएको पीडित टिकाको भनाइ छ । छोरी बेपत्ता बनाएपछि आफूलाई पनि अलपत्र पारेको परिवारले घटना सार्वजनिक भएपछि छोरीलाई लिएर आएको उनले बताएकी छन् । छोरी बिक्री गरेपछि ‘आफ्नो बच्चा खोई भनेर सोध्दा भट्टराई परिवारले ‘नानी काठमाडौंमा छ’ भनेर जवाफ दिने गरेको टिकाले बताएकी छन् ।
भर्खरै १८ वर्ष पुगेकी सुवेदी विवाह भएको उमेरमा बालिका रहेको पुष्टि हुन्छ । नेपालको कानुनले १८ वर्ष नपुगी गरिएको विवाहलाई अबैध मानेको छ भने त्यो उमेरमा गरिएको शारिरिक सम्बन्धलाई बलात्कार मानेको छ । कानूनी रुपमा सुवेदीलाई भट्टराई परिवारले ज्यादती गरेको पुष्टि हुन्छ । जुन घटना कानुनी कार्वाहीको दायरामा आउनुपर्नेमा समाज र जनप्रतिनिधिले पनि पटक–पटक मिलापत्र गरिदिएको पाइएको छ । भट्टराईको शारिरिक शोषणमा परेर गर्भवती भएकी युवतीको उनैसँग विवाह गरिदिनु, छोरी जन्मिएपछि परिवारले नवजात शिशु नै बिक्री गर्नु, युवतीलाई वेवास्ता गर्नु, समाजको दबाबपछि छोरी फिर्ता ल्याएपनि अहिलेसम्म न्वारन र जन्मदर्ता नगर्नु आफैंमा अपराधिक घटना पुष्टि हुने आधार हो । तर, बेसहारा जस्तै अवस्थामा रहेकी युवतीले कानुनी लडाइ लड्न नसकेको देखिएको छ ।
विवाहपछि युवतीलाई घरमा नराखेर अर्कैको घरमा राख्नु, बच्चा जन्माएको ६ दिनमा भारत लगेर बच्चा उतै छाडेर फर्काउनु, अनि बच्चा खै भन्दा उपचारको लागि काठमाडौं लगेको भनेर परिवारले भन्नु, छिमेकीले सोधखोज गरेपछि बच्चा ल्याउनु आफैंमा रहश्यमय रहेको छिमेकीहरुले पनि बताएका छन् । युवतीमाथि अहिले पनि भट्टराई परिवारले हिंसा गरिरहेको छ । बच्चाको स्याहारसुसारको लागि खर्च नदिँदा ती युवतीले मागेर जीवन गुजारेको अवस्था छ । बच्चालाई अन्तै कतै छोडेर विदेश जान युवतीलाई दबाब दिने भट्टराई परिवारले युवतीमाथि अनेक खालका गालीगलौज र हिंसा गरिरहेको छ । जुन कानुनी रुपमा दण्डनीय छ । यो घटनाको गम्भीर अनुसन्धान गरि दोषीमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्छ । अपराध गर्नेले उन्मुक्ति पाउनु हुँदैन ।