डा. बालकृष्ण साह
मोरङ व्यापार संघको आयोजना गरेको ट्रेड एक्स्पो २०२३’ शुक्रबारदेखि चल्दैछ । आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुने र एक्स्पो अवलोकन गर्न आउनेहरुले छुट्टै रमाइलो गर्ने अभिव्यक्ति आयोजक संघका अध्यक्ष नविन रिजालले हाम्रोमतको अन्तरवार्तामा दिएका थिए ।
एक्सपो अर्थात “एक्सपोजिसन्” अर्थात प्रदर्शनी । समान्य अर्थमा स्थानीय उत्पादन, स्थानीय संस्कृति, तथा स्थानीय कलाहरु (चित्र, पाक, लेखन, अन्य सीप÷कलाहरु) को प्रदर्शनी र प्रदर्शन गरेर प्रबद्र्धन गर्ने माध्यमलाई एक्सपो वा महोत्सव भनिन्छ । तर पछिल्लो चरणमा हुने यस्ता एक्स्पोहरुमा एक्स्पोको मौलिकता नै हराएको पाइन्छ ।
हुन त आयोजकले एक्स्पोलाई विशेष बनाउने कोसिस नगरेको होइन । एक प्रश्नमा रिजालले एक्स्पोभित्र नेचुरल आइफिल टावर हुनेछ । यो आइफिल टावर ७० फिट अग्लो हुन्छ । यो आफंैमा नौलो हो । सेल्फी स्टेन हुनेछ । जहाँ बसेर मेलामा आउने अवलोकनकर्ताहरुले फोटो खिच्न पाउनेछन् । चिल्डेन पार्क हुन्छ । जहाँ बालबाकिालहरुले दिनभरी रमाइलो गर्ने बातावरण हुनेछ’ बताएका छन् । उनले भनेको जस्तै एक्सपोमा आइफिल टावर छ, त्यहाँ निःशुल्क फोटो खिच्न पाउने व्यवस्था थियो । एक्सपोमा विराटनगरको गेट, विराटनगरको उद्योग, ऐतिहासिक जुटमिल, रिक्सा, बयलगाडी, ठेला, विराट राजाको दरवार, विराटनगरको परिचय झल्किने वा परिचय दिने कुनै कल्पना गरेका देखिदैन । त्यस्तै बालबालिकाहरुको लागि चिल्ड्रेन पार्क पनि नभएको होइन । प्रसस्त खेल्ने साधनहरु छन् । तर हरेक ५ देखि १० मिनेट खेलको नै १५० थप्नु पर्ने अवस्था छ । भारत लगायत अन्य मुलुकहरुमा एउटा निश्चित रकम लिएर जे र जति पनि खेल्न पाउने व्यवस्था छ । तर यहाँ त्यो सुविधा नभएपछि दिनभरि त के १–२ घण्टा खेलाउन पनि हजारौं खर्चिनु पर्ने अवस्था छ ।
एक्स्पोमा खानपिनको विशेष व्यवस्था छ । ‘फुड जोन’ मा खानाको सबै किसिमका परिकारहरु छन् । तर स्थानीय भक्का लगायत थारु, राजवंशी, मिथिला परिकारहरु देखिदैन । एकातिर जाडोमा भक्का, घुँघी, हाँसको मासु अर्कातिर दालपुरी (चामलको पिठोको भित्र दाल राखेर पकाएको), तिलौरी र तरुवा चप आदि राखेको भए स्थानीयपन आउने थियो । कोशी प्रदेशकै माथिल्लो भेगका सेल, फापर र तरुलका परिकारहरु राखे पनि केहि आनन्द आउँथ्यो होला । स्थानीय खानेकुराको नाममा एउटा नेवारी खाजा र चटपटे बाहेक अरु देखिएन ।
एक्स्पो लागुन्जेल उपभोक्ताहरु बजार जानु पर्दैन । एक्स्पोभित्र सम्पूर्ण वस्तु सरल र सस्तो मूल्यमा पाइने चुनौती दिइएको भनिए पनि यथार्थमा त्यस्तो छैन । एक त धेरै घरायसी प्रयोजनका समानका धेरै स्टल छैनन् र भएका स्टलमा पनि बजार भन्दा सस्तो नरहेको अधिंकाशको गुनासो सुनियो । हुन त सस्तो नै खोज्ने भए जोगवनी गए हुन्छ एक्सपो किन जानु ? आम नागरिकको मानसिकता छ । मेलामा त स्थानीय उत्पादन खोज्ने हो । त्यो नै एक्स्पोमा महत्व पाएको देखिएन । स्थानीय उत्पादनको नाममा केही किबीसहितका फलफूलका स्टल, केही मह र अचार मात्रै देखियो ।
एक्स्पोमा मनोरञ्जनको राम्रो व्यवस्था छ । राष्ट्रियस्तरका राम्रा कलाकारहरुको प्रस्तुतिले स्थानीय युवालाई राम्रै तताएको देखियो । तर, एक्सपोमा स्थानीय खोई ? स्थानीय कला, साहित्य, संस्कृतिको प्रदर्शन चाहिने होइन र ? अहिलेको विराट ट्रेड एक्स्पो एउटा “रमाइलो मेला” मात्र भएको छ भन्दा फरक नपर्ला । जहाँ रङ्गिचङ्गी छ, झकिझकाउ छ, केही खरिदबिक्री छ र मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरुको उपस्थिति गराइएको छ । त्यो पनि विराटनगरको मुटुमा जहाँ टासिएकै ठूला अस्पतालहरु छन् । एकातिर विराट नर्सिङ्ग होम र अर्कातिर मोरङ्ग सहकारी अस्पतालकोबिचमा एलिना चौहानको प्रस्तुति, हेर्नेलाई भन्दा सुन्नेलाई लाज’ जस्तै भएको छ । अस्पताल नजिकै एउटा कोलाहल थपिएको छ । आपत्तकालीन एम्बुलेन्स छिर्न पनि गा¥हो हुनेगरी सडक साँघुरिएको छ । सानो सडक त्यसमा पनि भीडले होला विरामी भेट्न जाने आफन्तलाई पनि सास्ती थपिएको छ ।