विराटनगर । अघिल्लो सातादेखि लगातार १९३ अंकको वृद्धिपछि नेप्सेमा बिहीार ब्रेक लागेर ३२.७७ अंकको करेक्सन भएको छ ।
एक सातादेखि बढिरहेको बजारमा यो साताको अन्तिम कारोबार दिन नाफा सुरक्षित गर्ने हाबी हुँदा नेप्से घटेको हो । यसबीचमा कतिपय कम्पनीमा ४० प्रतिशतसम्म नाफा भइसकेकोले उनीहरुले बिक्री प्रेसर दिँदा बजार घटेको हो ।
व्यापार उत्पादनमूलकबाहेकका बिहीबार सबै उपसमूहमा करेक्सन हुँदा नेप्से २१०९.१० बिन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन नेप्से घटेपनि १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । उन्नति सहकार्य लघुवित्तको ७.२, गरिमा विकास बैंकको ६.८, युनियन हाइड्रोपावरको ६.५, घलेम्दी हाइड्रोको ६.१, नेरुडे लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेकोमा अन्य ११ उपसमूहको परिसुचक कटेको छ छ । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ ।
नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि बजार १७ प्रतिशत हाराहारीमा बढेको थियो । अघिल्ला कारोबार भएका ११ मा १० दिन बजार बढेको थियो । भने पछिल्लो ७ कार्य दिन नेप्से लगातार बढेपछि केहि करेक्सन भएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरुपमा केही लचिलो नीति लिएपछि सेयर बजारमा नयाँ माहोल देखिएको हो । सेयर धितो कर्जामा जोखिमभार घटाइनु अनि ब्याजदर घटाउने नीति लिइनु नै सेयर बजारका लागि समग्रमा सकारात्मक पक्ष साबित भएका छन् ।