माछाको दानामा कोशी प्रदेश अझै परनिर्भर

मत्स्य दानाको आन्तरिक उत्पादनले ५७ प्रतिशत मात्रै धान्ने गरेको तथ्याङ्कले देखाएको छ ।

विराटनगर । कोशी प्रदेशमा माछा उत्पादन बढीरहेको छ । तर, अझै आन्तरिक उत्पादनले यहाँको माग धान्न सकिरहेको छैन । तथ्याङ्क अनुसार कोशी प्रदेशमा उत्पादित माछाले स्थानीय बजार मात्रै धान्ने गरेको छ । व्यवसायिक बजारका लागि भने मधेश प्रदेशबाट ६० प्रतिशत र भारतबाट ४० प्रतिशत माछा आयात हुने गरेको छ ।

कोशी प्रदेश कृषि मन्त्रालय अन्तर्गतको मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा माछा मात्रै नभएर माछाका लागि चाहिने आहारा पनि प्रदेशमा पर्याप्त उत्पादन भएको छैन । तथ्याङ्क अनुसार मत्स्य दानाको आन्तरिक उत्पादनले ५७ प्रतिशत मात्रै धानिरहेको छ भने ४३ प्रतिशत प्रदेशबाहिरबाट आयात हुने गरेको छ ।

मत्स्य तथा मत्स्यजन्य उत्पादनका लागि कृतिम आहाराको रुपमा मत्स्य दानाको प्रयोग भएको पाइन्छ । परम्परागत मत्स्य पालन प्राकृतिक अहारामा मात्र निर्भर रहेको थियो । तर व्यवसायिक मत्स्य पालनले विस्तारै गति लिएको वर्तमान अवस्थामा कृतिम आहारको रुपमा मस्त्य दानाको प्रयोगमा वृद्धि भएको छ । माछा बिक्री हुने गरेको र आम्दानी दिन थालेपछि यस पेशालाई व्यवसायको रुपमा संचालन गरिरहेका किसानले दानाको प्रयोग गर्न थालेको निर्देशनालयको दाबी छ ।

यद्यपि पंगास र रेन्बो ट्राउट जातको माछाका लागि भने पूर्णतया दाना मै आधारित व्ययवसाय रहेको छ । तर कार्प माछापालन अर्ध सघन रुपमा पालन गर्न थालिएको पाइएको छ ।तसर्थ दानाको प्रयोग कार्प माछा उत्पादनमा आवश्यकता भन्दा कम मात्रामा प्रयोग भएको पाएको छ । ट्राउट माछाको लागि किसानले आफैले पनि उत्पादन गरेर खुवाउने र भूरा माछाको लागि काठमाडौंबाट आपूर्ति गर्ने गरेको र खाने माछाको लागि आफै घरेलु उत्पादन मै निर्भर रहेको पाइएको छ ।

त्यसै गरेर पंगास माछाको लागि डुब्ने र तैरने दुवै खालको कृतिम आहारा मात्र प्रयोग गर्ने गरेको पाइएको छ । पंगास माछाको दानाको आहारा भने भारतबाट आयात हुने गरेको छ । विगत केहि वर्षबाट कोशी प्रदेशमा पनि पंगास माछालाई केन्द्रित गरेर दाना उत्पादन सुरु भएको छ ।‘स्थलगत रुपमा अध्ययन निरीक्षण गर्दा किसानहरुको प्रतिक्रिया अनुसार यहाँ उत्पादित माछाको दानाको गुणस्तरमा निश्चिन्त हुन नसकेको प्रतिक्रिया पाइएको छ,’ अनुसन्धानमा संलग्न मत्स्य अधिकृत लाक्पा भोटियाले भने, ‘तसर्थ दानाको गुणस्तर र दाना उत्पादनमा प्रगोग हुने सामाग्रीहरुको गुणस्तर चेकजाँच सम्बन्धी प्रदेश सरकार अन्तर्गत निकाय स्थापना गर्न सकेको खण्डमा न्यूनतम आवश्कता सेवा प्रवाह गर्न सकिने छ ।’ तथ्याङ्क अनुसार कोशी प्रदेशको मोरङ र सुनसरीमा रहेका पाँचओटा उद्योगले जम्मा ४ हजार ६८९ मेट्रिक टन फिस फिड उत्पादन गर्ने गरेका छन् । प्रदेशलाई माछाको दानामा आत्मनिर्भर हुन ८ हजार २२६ मेट्रिक टन उत्पादन हुन आवश्यक छ ।

कोशी प्रदेशमा ११ हजार ४७ वटा पोखरी छन् । मोरङमा मात्रै कार्प माछा उत्पादन ४ हजार ३०९ मेट्रिक टन हुन्छ । यस्तै दोस्रो नम्बरमा रहेको सुनसरीमा ३ हजार १४७ र झापामा १ हजार ७६५ मेट्रिक टन उत्पादन हुन्छ । जम्मा उत्पादन प्रदेशभरमा १० हजार १६३.१९ मेट्रिक टन हुन्छ । तथ्याङ्क अनुसार कोशी प्रदेश अन्तर्गत बहुजातीय कार्प माछापालन करिव २००० हेक्टर जलाशय क्षेत्रफलमा भैरहेको छ । चिसो पानीका स्रोत भएको स्थानहरुमा हाल ६ हजार ९०४.९६ वर्ग मिटर क्षेत्रफलमा रेन्बो ट्राउट माछापालन भइरहेको छ भने उत्पादन ३८ मेट्रिक टन छ । पंगास जातको एकल माछापालन करिब १५० बिघा क्षेत्रफलमा भैरहेको छ ।

बिहिबार, ०५ पुष, २०८०, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर