निर्माणको काममा ढिलाई हुने रोग

 सम्पादकीय

विकास निर्माणको काममा ढिलासुस्ती नेपालको विषेशता नै भएको छ । ठेकेदारको लापर्वाही र मनोपोलीले कुनैपनि सरकारी ठेक्काको काम समयमा पुरा भएको विरलै पाइन्छ । निर्माणको काममा भएको ढिलासुस्तीले एकातिर सरकारको विकास बजेट खर्च नहुने समस्या मात्र नभएर मुलुकको समग्र विकासमै असर गरिरहेको छ । आम नागरिकले त्यसको प्रतिफल समयमा प्राप्त नगर्ने मात्र नभई लागतमा बृद्धि हुँदा राज्यलाई भार थपिने गरेको छ । त्यसको मार आम नागरिकले नै भोग्नुपर्छ । सरकारी स्वामित्वमा रहेको कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल कोशी अस्पतालको क्षमता विस्तारको लागि भपन निर्माण सुरु भएपछि अस्पतालको सेवामा सुधार हुने र आधुनिकिकरण हुने अपेक्षा थियो । तर, ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको निर्माण कम्पनीले तोकिएको अबधिक सकिन २० दिन मात्र बाँकी छँदा २५ प्रतिशत मात्र काम गरेको छ ।

कोशीको ५ तले आधुनिक भवन निर्माणको सम्झौता अवधि पुस २२ गते सकिदैछ । अस्पतालको नयाँ भवन निर्माणको काम पुरा नहुँदा दैनिक एक हजार बढि विरामीले सास्ती पाइरहका छन् । अस्पतालको नयाँ भवन निर्माणको लागि साविकका पुराना दुई वटा भवन भत्काइएकोले अस्पतालको सेवा साघुँरो स्थानमा खुम्च्याउनु परेको छ । रमनभूमि, बि.आई. पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजारमा भवन निर्माणको ठेक्का लिएकोमा कामको गति अत्यन्तै सुस्त छ । सुरुमा कृष्ण बोहरा संचालक रहेको भूमि कन्ट्रक्सनले निमार्णको काम थालेकोमा बोहोरा सम्पर्कबिहीन भएपछि पवनकुमार महतो संचालक रहेको भूमि कन्ट्रक्सनका साझेदार रमणले निर्माणको काम गरिरहेको छ । तर, कामको गती सुस्त छ । ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरिररहेको बताइन्छ ।

टेन्डर आव्हान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको कम्पनीले घाटा हुने भन्दै काममा ढिलाइ गरेको हो । निर्माण कम्पनीले हालसम्म ८ करोड रुपैयाँ भने भुक्तानी लिइसकेको छ । तर, कामको गति छैन । जसले गर्दा भवन निर्माण कहिले सम्पन्न हुन्छ भन्ने जवाफ कसैले दिन सक्दैन । भवन निर्माणको काम हेरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ पनि ठेकेदारको रवैयाबाट हैरान छ । राज्यको कमजोर कानुनको फाइदा लिएर ठेकेदारले ठेक्का हात पार्ने र काममा ढिलाई गर्ने प्रचलन रहेको छ । काममा ढिलाई गर्नेलाई कार्वाही र छिटो गर्नेलाई पुरस्कृत गर्ने प्रणालीको विकास हुन नसक्दा मनपरीतन्त्र मौलाएको छ । अझ विराटनगर आसपासमा ठेक्का लिएर काम अलपत्र पार्नेमा भूमि कन्ट्रक्सन बद्नाम छ । तर, ठेक्का उसैले धेरै पाएको देखिन्छ ।

भवन निर्माण सम्पन्न भएपछि कोशी प्रदेशकै ठूलो अस्पताललाई ३५० शय्याबाट ५०० शय्या पुर्याउने योजना छ । दैनिक एक हजारभन्दा धेरै विरामी उपचारको लागि आउने कोशीमा भवन, चिकित्सक र स्वास्थ्यकर्मीको अभाबमा ठूलो भिड हुने गरेको छ । चार कठ्ठा २ धूर क्षेत्रफलमा ५ तले भवन बनेपछि समस्या समाधान हुने अपेक्षा छ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ । मास्टरप्लान अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । अस्पतालको स्तरोन्नतीको विषय नागरिककको स्वास्थ्य अधिकारसँग पनि जोडिएको छ । त्यसैले अस्पतालको भवन छिटोभन्दा छिटो बन्नुपर्छ । ढिलाई गर्ने ठेकेदारलाई दबाब दिएर आवश्यकता अनुसार कार्वाहीको दायरमा ल्याएर काम छिटो सम्पन्न गराउनुपर्छ ।

बिहिबार, ०५ पुष, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर