विराटनगर । सरकारी स्वामित्वमा रहेको कोशी प्रदेशको ठूलो कोशी अस्पतालको साढे पाँच तलाको भवन निमार्णमा अनावश्यक ढिलासुस्ती देखिएको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त अस्पताल भवन निर्माणको अवधि सकिन २० दिन मात्र बाँकी छ । यस अवधिमा भवन निर्माणको २५ प्रतिशत कार्य मात्र पूरा भएको छ । बाँकी ८० प्रतिशत काम सम्पन्न हुन यही गतिमा अरु १० वर्ष लाग्ने देखिएको छ ।
कोशीको भवन निर्माणको सम्झौता अवधि यही पुस २२ गते सकिदैछ । सम्झौता अवधि सकिनुअघि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको छ । कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमनभूमि, बि.आई. पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो । उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाइसँग सम्झौता गरेको थियो । सम्झौता लगतै २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर अस्पतालको शिलान्यास गरिएको थियो ।
कोशी अस्पताल हाताभित्र निर्माणाधीन अत्याधुनिक र सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काम ठेकेदार साझेदारहरुबीचमा भएको आन्तरिक विवादका कारण सुस्त भएको बताइएको छ । प्रारम्भमा कृष्ण बोहरा संचालक रहेको भूमि कन्ट्रक्सनले निमार्णको काम सुरु गरेको थियो । निमार्ण सुरु गरेको केही दिनपछि भूमिले करिब पाँच महिना निमार्णको काम रोकेर बसेको थियो । त्यसपछि ठेकेदार बोहरा सम्र्पक बिहीन भए । अहिले पवनकुमार महतो संचालक रहेको भूमि कन्टक्सनका साझेदार रमणले निमार्णको काम गरिरहेको छ ।
लामो समयसम्म निमार्णको काम रोकिएको र समयमा निमार्ण कार्य अगाडि नबढेपछि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका प्रमुख सुरेन्द्रकुमार साहले बताए । ‘निमार्ण कम्पनीले म्याद थपका लागि समयसीमा माग गर्ने तयारी गर्दैछ,’ उनले भने, ‘म्याद सकिनु अगाडि पहिलो पटक म्याद थप गरिनेछ ।’
ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । टेन्डर आव्हान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेबीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरुले बताउँछन् ।
निर्माण कम्पनीले हालसम्म ८ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी लिइसकेको छ । निर्माण गरे अनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमा रहँदै गर्दा बिचमा नै ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा आयोजना सम्पन्न हुन नसक्ने प्राविधिकहरुले बताए
कस्तो बन्नेछ नयाँ भवन ?
चार कठ्ठा २ धूर क्षेत्रफलमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियूसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शय्याको हुनेछ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ । मास्टरप्लान अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शय्या पु¥याउने तयारी गरिएको छ ।