विराटनगर । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको शेयर बजारले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।
सोमबार नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ । यो करिब ५ महिना यताकै उच्च हो । यसअघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा थियो ।
बढ्दो शेयर बजारमा कारोबार रकमले पनि साथ दिएको छ । सोमबार ३१३ स्टकको ९९ हजार ६४१ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन अन्य ५ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.२६ प्रतिशत घटेको छ ।
यस दिन बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, बीपीडब्लू लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । यस्तै माथिल्लो मैलुङखोलाको ४.९ तथा पिपुल्स पावरको मूल्य ३.१ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यर दिन ३७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोल्टी होटलको साढे २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ । त्यसैगरी, यसदिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ । कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।
पछिल्लो १० कारोबार दिनमा मात्र लगानीकर्ताको सम्पति ४ खर्ब २२ अर्ब ९९ करोड रुपैयाँ भन्दा धेरैले बढेको छ । मंगलबार नेप्सेको बजार पुँजीकरण ३२ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
मंसिर २० गते बजारको कुल पुँजीकरण २८ खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँ थियो । त्यसयताको १० कारोबार दिनमा नेप्सेको पुँजीकरण १४.९० प्रतिशत भन्दा धेरैले बढेको हो । बजारमा आएको वृद्धिका कारण लगानीकर्ताहरुको सम्पति बढेको हो ।