विराटनगर । वाणिज्य बैंकहरुले पुस महिनाको लागि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् ।
प्रभु र सानिमा बैंकले मंसिर महिनाकै ब्याजदर यथावत राख्दा अन्य बैंकले घटनाएका छन् । अब औसतमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत कायम भएको छ ।
मंसिरमा मुद्दतीको ब्याजदर औसतमा ९.६१ प्रतिशत रहेको थियो । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटको छ । पुसमा प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै १० प्रतिशत ब्याज दिनेछ भने एभरेष्टले भने सबैभन्दा कम ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशतबिन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको हो ।
सिटिजन्स बैंकले १.३५ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएको छ भने एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन् ।
प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने जनाएका छन् । सिद्धार्थले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत, नेपाल बैंकले व्यक्तिगत मुद्दतीमा ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत, नबिलले व्यक्तिगत मुद्दतीमा ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीमा ८.५६ प्रतिशत र संस्थागतमा ५.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंकले व्यक्तिगत मुद्दतीमा ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत ब्याज दिने भएका छन् ।
यस्तै, एनआईसी एसियाले व्यक्तिगत मुद्दतीमा ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत, प्राइमले व्यक्तिगत मुद्दतीमा १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतीमा ९.५ प्रतिशत र संस्थागततर्फ ७।५ प्रतिशत ब्याज दिनेछन् ।