गोकुल पराजुली
नेपाली समाजमा आजभोलि अराजकताको पारो बढ्दै गएको छ । संविधान सभाबाट संविधान बनेपछि नेपाल राजनीतिक रुपमा अधिकतम स्वतन्त्र छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधानले नै सुनिश्चित गरिदिएको छ । लोकतान्त्रिक विधिमार्फत् आफ्नो प्रतिनिधि आफैं चुन्नसक्ने व्यवस्था मुलुकले अवलम्बन गरेको छ । जनअपेक्षा अनुसार नचल्ने दलहरुलाई आवधिक निर्वाचन मार्फत फेर्न सक्ने निर्वाचन प्रणाली छ । आफ्नो माग सरकारसँग राख्न सक्ने, शान्तिपूर्ण दबाब दिन पाइने आदि अधिकारहरु पनि जनताले प्राप्त गरेका छन् । लामो संघर्ष र सशस्त्र विद्रोहसमेत शान्ति प्रक्रिया हुँदै समाधान खोजी गर्दै त्यसको अन्तिम निश्कर्ष निकाल्ने चरणमा पुगिसकेको छ । यसले हिंसाबाट होइन वार्ता, सम्वाद, सहमति, सहकार्य, आपसी सद्भाव र एकताको माध्यमबाट हरेक समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने आधार तयार पारेको छ । तर राजनीतिक उपलब्धिहरुका बारेमा जनतालाई यथार्थ जानकारी दिन नसक्दा समाजमा अराजकता बढ्दै गएको छ । एक अर्काप्रति घृणा संचार गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । हरेक कुरामा नकारात्मक धारणा राख्ने, राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न नसक्ने अवस्थामा एकथरी मानिसहरु पुगिरहेको देखिन्छ ।
सबै बिग्रियो, सक्कियो, फलानाले सक्यो, ढिस्कानाले बिगा¥यो आदि नकारात्मक चिन्तनको विकास भइरहेको छ । यसो हुनुको पछाडि नेपाली राजनीतिक दलहरु, बुद्धिजीवि, नागरिक समाज, अभियान्ताहरु, सञ्चार क्षेत्र आदि सबै जिम्मेवार छौं ।समाजलाई नकारात्मक बनाउँने, निराशा बाँड्ने कार्यबाट सही परिणाम प्राप्त गर्न सकिदैन । नकारात्मक सोच, निराशाले नकारात्मक परिणाम नै दिन्छ ।
सुदूरपश्चिमबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी समृद्धि यात्रा धनकुटा प्रवेश गर्ने क्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एक व्यक्तिले मुक्का प्रहार गरे । लेगुवामा सर्वसाधारणबाट स्वागत ग्रहण गर्दैगर्दा स्थानीय महेश राईले ओलीलाई मुक्का प्रहार गरेका थिए । महेशको व्यवहार पूर्णत अशिष्ट, अराजक र दण्डनीय हो । समाज नकारात्मकता तर्फ उन्मुख भइरहेको छ भन्ने उदाहरणका लागि यो एउटै घटना काफी छ । प्रजातान्त्रिक समाजवाद उन्मुख संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिरहेको मुलुकमा यस प्रकारको व्यवहारको अपेक्षा गरिदैन । कुनै व्यक्ति, समूह वा उक्त समूहले अवलम्बन गरेको विचार अरुलाई मन नपर्न सक्छ । त्यसमा असहमत हुन पाइन्छ । तर यस प्रकारको अभद्र व्यवहार गर्ने छुट कसैलाई छैन । छुट दिइनु पनि हुँदैन । हिजोका दिनमा पनि नेताहरुमाथि यसैगरी आक्रमणका प्रयासहरु भएका थिए । कतिपय सुनियोजित पनि लाग्थे । कुनै पात्र र प्रवृत्तिहरु त्यसमा उपयोग भएका थिए । तर ती घटनाहरुमा संलग्नहरुलाई कानुनी दण्ड दिइएन । उदार राजनीतिज्ञ कहलिने नाममा नेताहरुले दोषीलाई आममाफि दिने काम गरियो । जसले समाजमा दण्डहीनता बढाउने सहयोग गर्यो । समाजलाई अराजक बनाउन सहयोग गर्यो ।
पछिल्लो राजनीतिक सृङ्खलामा यो घटना पहिलो भने होइन । २०६७ को माघमा झलनाथ खनालमाथि सुनसरीको इटहरीमा देबीप्रसाद रेग्मीले मुक्का प्रहार गरेका थिए । २०६९ को असोजमा तत्कालीन काँग्रेस सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरेका थिए भने २०६९ सालमा प्रचण्डमाथि माओवादी कार्यकर्ता पदम कुँवरले थप्पड हानेका थिए । अरु नेताहरुमाथि पनि यस प्रकारको व्यवहार बेलाबखत भएको सुनिन्छ । तेस्रो मुलुकहरुमा चर्चाका खातिर राज्यका उच्च तहका नेताहरुमाथि जुत्ता प्रहार गरेर विरोध गर्ने नकारात्मकशैली प्रयोग हुने गरेको छ । जसलाई नकारात्मक सोच भएका नेपालीहरुले पनि नक्कल गर्दा यस्ता दुर्घटनाहरु हुने गरेको छ सहजै भन्न सकिन्छ ।
बिहीबारको घटनामा आधारित भएर हेर्दा एमाले अध्यक्ष ओली नेतृत्वको टोली मंसिर १३ देखि सुदूरपश्चिम हुँदै सुदूरपूर्वको प्रदेशमा आइपुगेको हो । यसबीचमा लाखौं कार्यकर्ता र समर्थन तथा सर्वसाधारण नागरिकसँग उनले साक्षात्कार गरेका छन् । लाखौंले उनको यात्रालाई स्वागत गरेका छन् । अनि एक जनाले आक्रोशमा मुक्का हानेका छन् । त्यसमानेमा यो भन्न सकिन्छ कि आक्रोश भन्दा सद्भावकै मात्रा बलियो छ । हो समाजका शतप्रतिशत मानिसहरु राज्य व्यवस्थाको पक्षमा हुँदैनन् । सन्तुष्ट, असन्तुष्ट सबै खालका भावनाहरु समाज हुन्छ भन्ने बिर्सन हुँदैन । त्यसैले यस्तो अराजकतालाई कसैले पनि प्रोत्साहन गर्न हुँदैन । घटनामा संलग्नलाई कानुनी दण्ड दिइनु पर्छ जसले दण्डहीनता अन्त्य गर्न सहयोग पुग्छ ।
अनि हाम्रा नेताहरु, नागरिक समाज, बुद्धिजीवि र अभियान्ताहरु सबैले एकपटक आफैंतर्फ फर्केर हेर्न जरुरी छ कि समाजलाई नकारात्मक बनाउन, निराशा बाँड्न हामीले कतै भूमिका त खेलिरहेका छैनौं ? दण्डहीनता बढाउन हामीले पनि भूमिका खेलेका छौं कि ? पक्कै पनि हामी सबैको यस्तो कार्यमा सहभागिता छ त्यसलाई सच्याउन जरुरी छ । समाज अराजक हुँदै गयो भने त्यसको शिकार क्रमैसँग सबै हुनुपर्छ । दण्डहीनताले निम्त्याउने भयावह अवस्थाबाट कोही पनि उम्कन नसक्ने अवस्था बन्न सक्छ । त्यसका लागि सकारात्मक सोच, दृष्टिकोण र विचारहरुको प्रवाह गर्ने अभियान सुरु गरौं ।