सम्पादकीय
रुस–युक्रेनबीच गएको डेढ वर्षदेखि चलिरहेको युद्धमा झण्ड दुई सय नेपाली सहभागी रहेको अनुमान सरकारले नै गरेको छ । युद्धमा अहिलेसम्म रुसी सेनामा कार्यरत इलामका गंगाराज मोक्तानसहित ६ नेपालीको मृत्यु भएको पुष्टि नै भएको छ । एक नेपालीलाई युक्रेनी सेनाले बन्दी बनाएको सरकारले जनाएको छ । रुसी सेनाले मस्कोस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले मृत्यु र बन्धक नागरिकबारे विवरण सार्वजनिक गरेको छ । रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका मोक्तानको मृत्यु भइसकेको छ । अबैध रुपमा राम्रो रकम पाइने प्रलोभनमा नेपालीहरु युद्धमा सहभागी हुनेगरि रुसी सैनिकमा भर्ति भइरहेको रिपोर्टहरु आएका छन् । कतिपय नेपाली युक्रेनी सेनामा पनि भर्ना भएको बताइन्छ ।
नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न रुस सरकारलाई आग्रह गरेको छ । कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको छ । सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन अनुरोध गरेको छ । नेपालीलाई फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक पहल भइरहेको सरकारले जनाएको छ । तर, सरकारले नजिता दिनुपर्ने अवस्था छ । खासगरि रोजगारीको खोजीमा रहेका नेपालीहरु राम्रो कमाई हुने प्रलोभनकै कारण युद्धमा सहभागी हुन गएको प्रष्ट छ । मुलुकमा बढ्दो बेरोजगारी र युवा पलायनको एउटा पाटो हो, यो । त्यसैले सरकार यसमा गम्भीर हुनुपर्छ । सरकारको साथ संकटमै नागरिकलाई आवश्यक हुन्छ ।
रुसी सेनामा सुटुक्क भर्ना भएका नेपालीले नेपाल सरकारका लागि समस्या बनेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मच्चिएको लडाइँ झन् झन् चर्केर गएको छ । वैदेशिक रोजगार भनेपछि हुरुक्क हुने नेपाली युवा राज्यको अनुमति नलिईकन रुसको सुनामा भर्ती हुन पुगेका हुन् । युद्धरत मुलुकको सेनामा भर्ती भएपछि लडाइँमा पठाइनु र मारिनु दुःखद भएपनि अनौठो होइन । तर, रुसले नेपाल सरकारको सहमतिबेगर नेपालीलाई आफ्नो फौजमा भर्ना गरेर युद्धमा पठाउनु भने कूटनीतिक मान्यताविरुद्ध हो । नेपाली नागरिकहरू रुसको सेनामा भर्ना हुनु रोजगार स्वीकृति लिएर विदेशमा काम गर्नुजस्तो होइन । त्यसैले यसमा नागरिकहरु पनि सचेत हुनुपर्छ ।
रुसी सेनामा भर्ती गराउन मानव तस्करी गर्ने गिरोह पनि नेपालमा सक्रिय रहेको खुलेको छ । नेपालबाट युवाहरु रुसी सेनामा भर्ना भइरहेको रिपोर्ट यसअघि पनि सार्वजनिक भएका थिए । तर, सरकारी निकायले चासो नदिँदा दलालहरुले बेरोजगार युवााहरुलाई युद्धमा होमिन पठाए । राज्यको कमजोरी र युवाहरुको बेरोजगारी अन्त्य गर्न लाहुरे हुने चाहनाले यो समस्या आएको हो । शक्तिशाली राष्ट्रबीच युद्ध भइरहेको बेला त्यहाँको सेनामा भर्ती हुन जानु सबैभन्दा ठूलो कमजोरी युवााहरुकै हो । जे भएपनि युद्धमा फसेका नागरिकलाई सकुशल फिर्ता ल्याउने प्रयत्न सरकारले गर्नैपर्छ । रुस र युक्रेनका लागि नेपाली दूतावासले पनि तदारुकताका साथ आफ्नो क्षमता देखाउनुपर्छ । नेपालसँगको मित्रतालाई ध्यानमा राखेर रुसी सरकारले रुसी सेनामा अवैधरूपमा भर्ती भएका नेपालीलाई सकुशल फिर्ता पठाउनुपर्छ । त्यसको लागि कुटनीतिक पहल बढाउनुपर्ने खाँचो छ ।