संखुवासभा । संखुवासभामा एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष सुधार आएको छ । नेपालको कालो सुनको रुपमा चिनिदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलो) ७० हजार रुपैयाँ पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । हाल अलैँचीको मूल्य प्रतिमन ७० हजार रुपैयाँ रहेको अलैँची व्यवसायी महासंघ संखुवासभाका अध्यक्ष कुमार श्रेष्ठले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए ।
पछिल्लो समय भारत, पाकिस्तान लगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् । ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तंथ्याक छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । संखुवासभामा २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गतवर्ष ९४० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यसवर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ ।
कोशी प्रदेशको संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा अलैंची खेती हुने गरेको छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । व्यवसायीकाअनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन भागमा विभाजन गरिएको हुन्छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बिरुवा भएकाले उत्पान घट्नुका साथै बोट डढ्ने आदि समस्या आइरहेको किसानहरुले बताएका छन् ।