गोरखापत्रमा छापिएको ‘मरेको मान्छे बाँचेको’ समाचार गलत !

विराटनगर । विराटनगरको एक अस्पतालले मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्दै गोरखापत्र दैनिकमा सोमबार प्रकाशित समाचार झुटो रहेको पाइएको छ ।

गोरखापत्र दैनिकको आजको अंकमा पहिलो पेजमा आज प्रकाशित ‘अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित’ शीर्षकको समाचार झुटो रहेको पाइएको हो ।

गोरखापत्रको समाचारमा विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालमा शनिबार दिउँसो भर्ना भएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई १५ घण्टा शवगृहमा राखेर अन्तिम दाहसंस्कार गर्न घाट लैजानलाग्दा जीवित नै पाइएको उल्लेख छ । उक्त समाचारप्रति अस्पताल प्रशासनले आपत्ती जनाउँदै सदाको अस्पतालमा मृत्यु नभएको बरु अर्को अस्पतालमा उपचार गर्न लान्छु भनेर आफन्तले लगेको बताएको छ ।

अस्पतालले उपलब्ध गराएको कागज अनुसार बिरामी प्रताप सदाको श्रीमती सीताकुमारी ऋषिदेवले लामा कन्स्टेन्ट सम्झौतामा हस्ताक्षर गरेकी छन् । सम्झौतामा आफैंले जिम्मेवार भएर बिरामीलाई लैजान सहमत भएको र अस्पताल वा कुनै पनि चिकित्सक र कर्मचारीलाई दोष नदिने उल्लेख छ । सम्झौतामा शनिबार साँझ नै ऋषिदेवले हस्ताक्षर गरेको भएपनि आइतबार दिउँसो अस्पतालबाट विरामी लगेको देखिएको छ ।

अस्पतालले आइतबार १२ बजेर ५२ मिनेटमा बिरामीलाई अक्सिजन लगाएर बाहिर लगेको सिसिटीभी फुटेजमा देखिएको छ । समाचारमा भनिएअनुसार शवगृहबाट शव नभएर आईसियुबाट अक्सिजन लगाएर विरामी निकालेको फुटेजमा देखिन्छ ।

अस्पताल व्यवस्थापक गोविन्द लुइँटेलले अस्पतालले प्रताप सदालाई मृत घोषणा नगरेको बताए । ‘हाम्रो अस्पतालको बद्नाम गराउने उद्देश्यले यस्तो भ्रम फिँजाइएको छ,’ उनले भने, ‘हामीसँग जिवितै पठाएको आधार प्रमाण सबै छ ।’

गोरखापत्रमा समाचारको स्रोतको रुपमा उल्लेख गरिएका स्थानीय राजेन्द्र पोखरेलले पीडित परिवारसँग डेथ सर्टिफिकेट भए नभएको आफूलाई थाहा नभएको बताए । सदाको मृत्यु भएको भन्दै आफन्त छिमेकीले अन्तिम संस्कारको तयारी गरेको बेला आफू पुगेको उनको भनाइ छ ।

सदाका छिमेकी पहल कटुवाललाई गोरखापत्रले समाचार स्रोतको रुपमा उल्लेख गरेको छ । कटुवालले पनि अस्पतालले मृत घोषणा गरेको प्रमाणपत्र दिए नदिएको आफूलाई जानकारी नभएको र त्यसको जिम्मेवार व्यक्ति आफू नभएको प्रतिक्रिया दिएका छन् ।

स्थानीयका अनुसार सदाको अहिले इनरुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । इनरुवा नगरपालिका ३ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बिरामीका आफन्तको अज्ञानताका कारण बुझाइ गलत हुनपुगेको बताएका छन् । आफूलाई सदा परिवारले ‘प्रतापको मृत्यु भयो, लास निकाल्न पैसा पुगेन’ भनेर फोन गरेको उनले जानकारी दिए ।

अस्पतालले मृत घोषणा गरेको नदेखिएको बिरामीसँगै इनरुवा अस्पतालमा रहेका श्रेष्ठले जानकारी दिएका छन् । प्रतापकी श्रीमति सीताकुमारीले डाक्टरले मर्‍यो भनेर पठाएको बताएपछि उनको मृत्यु भएको हल्ला गाउँमा फैलिएको उनको भनाइ छ ।

सोमबार, २५ मंसिर, २०८०, दिउँसोको ०१:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर