कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी

५२ वर्षीय राजवंशीको सफल उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउकोको ‘क्रेनियोप्लाष्टि’ सर्जरी गरी सफल उपचार गरिएको छ । चिकित्सकहरुको टोलीले विराटनगर–१२ बखरकीका ५२ वर्षीय भरतलाल राजवंशीको टाउको ‘क्रेनियोप्लाष्टि’ को सर्जरी गरी सफल उपचार गरेको हो ।

राजवंशी सवारी दुर्घटनामा परी टाउँको चोट लागेको थियो । उनी सिटी सफारी चालक हुन् । घाइते भएका राजवंशीले विराटनगरको निजी हस्पिटलमा गएर उपचार गरे । उपचारमा उनीसँग भएको र ऋण खोजेर आठ लाख रुपैयाँ सके । तर, उनी पूर्णरुपमा ठिक भएनन् । आर्थिक अवस्था नाजुक भएका राजवंशी ऋण खोजेर थप उपचारको लागि निजी हस्पिटल जानसक्ने अवस्था थिएन । त्यसपछि उनी गत बिहीबार कोशीमा पुगेका थिए ।

उनको स्वास्थ्य उपचार हेरेपछि चकित्सकले शल्यक्रिया गरिनुपर्ने सुझाब दिए । चिकित्सकको सुझाव अनुसार शुक्रबार राजवंशीको टाउको ‘क्रेनियोप्लाष्टि’ को सर्जरी गरिएको थियो ।

कोशी अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको टिम राजवंशीको शल्यक्रियामा सहभागी थियो । यो उपचार कोशी अस्पतालमा पहिलोपटक गरिएको उनले बताए । ‘न्यूरो सर्जरी सेवा सुरु भएको ढेड वर्ष भयो । अहिलेसम्म २० भन्दा बढी शल्यक्रिया गरियो । अहिलेसम्म गरिएको शल्यक्रियामध्ये यो सर्जरी पहिलो हो,’ डाक्टर यादवले भने, ‘यो जटिल अप्रेसन हो । ब्रेन धेरै मात्रामा सुन्निएको थियो । हामी शल्यक्रियाको माध्यमबाट क्रेनियोप्लाष्टिक गर्न सफल भयौं ।’

शल्यक्रिया गरेको एकसातापछि राजवंशी सोमबार डिस्चार्ज भएका छन् । ‘स्वास्थ्यमा सुधार आएपछि हामीले डिस्चार्ज गरिएको हो,’ डा. यादवले भने, ‘अहिले उहाँ ठिक हुनुभएको छ । विगतको जस्तै गरि अब राम्रोसँग हिड्डुल गर्नसक्ने हुनुभएको छ ।’ उपचारपछि श्रीमान्को स्वाथ्य अवस्था ठिक भएपछि श्रीमती संगीता राजवंशी हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले श्रीमान् हाँस्न र बोल्न सक्ने हुनुभएको छ । एक साताको उपचारपछि डिस्चार्ज हुने भएको छ,’ उनले भनिन्, ‘चिकित्सक र अस्पतालले श्रीमान्लाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउनेप्रति आभारी छु ।’

यसअघि पनि कोशी अस्पतालमा टाउकोमा गाडिएको हड्डी शल्यक्रिया गरी निकालेको थियो । कोशी अस्पतालमा जटिल प्रकारको शल्यक्रिया पनि हुन सुरु भएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट (मेस) डा. चन्द्रभाल झाले बताए । कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।

न्यूरो सर्जरीमा जनशक्तिको अभाव

कोशीको न्यूरो सर्जरी सेवा सुरु भएको एक वर्षभन्दा बढी भइसक्दा पनि जनशक्ति पर्याप्त नभएको चिकित्सकले बताएका छन् । दक्ष जनशक्ति नहुँदा उपचारमा कठिनाइ भएको छ ।

कोशीमा न्यूरो सर्जन एक जनाको दरबन्दी छ । उक्त दरबन्दी पदपूर्ति भएको छ । न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यकता छ । त्यससँगै थप उपकरणहरुको पनि आवश्यक रहेको छ,’ न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवले भने, ‘तत्काल पोस्टअप र माइक्रोस्कोपीक उपकरण भए न्युरो सर्जरीका ठूला–ठूला शल्यक्रिया गर्न सकिने थियो ।’ थप जनशक्ति र पर्याप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए । न्युरो सर्जरी आईसीयूको पनि आवश्यक रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन् । त्यसपछि हुनुपर्ने केयर मुख्य विषय हो,’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यकता छ ।’

कोशीको ओपीडीमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडीमा चिकित्सक डा. यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबार र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ । कोशी अस्पतालका मेसु झाले २० वर्ष अगाडिको दरबन्दीअनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडीमा ५ देखि ६ सय बिरामी हुने गरेका थिए । अहिले दैनिक ओपीडीमा १५ सय देखि २ हजारसम्म बिरामी आउने गरेका छन्,’ उनले भने, ‘पूरानो दरबन्दीअनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहल गरिरहेका छौं ।’

बिहिबार, २१ मंसिर, २०८०, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर