सम्पादकीय
स्वामित्व खरिदबिक्रीमा करछली गरेको प्रकरणका मुछिएर अझै विवाद किनारा नलाग्दै एनसेलको स्वामित्व खरिदबिक्री फेरि विवादमा परेको छ । सन् २०१६ मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको हिस्सा आजियाटाले किन्दा लाभकर तिरेको थिएन । टेलियासोनेरासँग मलेसियन कम्पनी आजियाटाले ८० प्रतिशत सेयर स्वामित्व खरिद गर्दा सरकारलाई बुझाउनुपर्ने लाभकर वापतको २५ प्रतिशत कर छली गरेको थियो । त्यसबारे ठूलो बहस, विवाद र दबाबपछि सरकारले कर तिर्न ताकेता गर्दा एनसेलले अन्तराष्ट्रिय मध्यस्थकर्तासम्म मुद्दा लगेको थियो । तर, मुद्दा हारेपछि उसले केहि कर तिर्यो भने तोकिए अनुसारको कर अझै भुक्तानी गर्न बाँकी छ । यो अवस्थामा फेरि अजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर कौडीको मुल्यमा बिक्री गरेको बताएको छ । आजियाटाले आफ्नो नेपाल साझेदार शतिसलाल आचार्यको २ महिना अघि बेलायतमा स्थापना भएको कम्पनी स्पेक्ट्रलाईट कम्पनीलाई सेयर बिक्री गरेको छ ।
करिब ७ वर्ष १४३ अर्बमा किनेको कम्पनी अहिले ६.५ अर्बमा बिक्री गरेको घटना आफैंमा अविश्वसनीय र अपत्यारिलो छ । उक्त रुकममध्ये पनि करिब ६५ करोड मात्र तत्काल भुक्तानी गर्ने र बाँकी रकम ४ वर्षमा लिने सहमति बाहिरिएको छ । यसभित्र ठूलै चलखेल रहेको अनुमान सहजै गर्न सकिन्छ । दूरसंचार नियमावली अनुसार दूरसंचार कम्पनीले आफ्नो हिस्साको ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्न वा खरिद गर्दा नियामक निकायको पूर्वस्वीकृति लिनुपर्नेमा अजियाटाले नियामकलाई कुनै जानकारी नै नदिई सेयर बिक्री गरेको पाइएको छ । यस प्रकरणमा अजियाटाले कानून पनि उल्लंघन गरेको स्पष्ट छ । सरकारलाई तिर्नुपर्ने कर पनि तिर्न अटेर गरेको कम्पनीले अहिले सेयर बिक्री गरेको घटना रहश्यमयी छ । प्रधानमन्त्री प्रचण्डले घटनाको छानविन र अध्ययन भइरहेको बताएका छन् । प्रधामन्त्रीको निर्देशन अनुसार काम हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ । किनकि मिलेमतोमा यो कारोबार भएको आशंका पनि कतिपयको छ । त्यसो भएकैले वब्यौता लाभकर असुलीमा पनि ढिलाइ भइरहेको आशंका गर्नेहरु छन् ।
कानून अनुसार ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने भएकोले अहिले किनबेचको नाटक मञ्चन भएको आशंका गरिएको छ । ५० प्रतिशतभन्दा बढि विदेशीको लगानी भएको दुरसंचार कम्पनीको स्वामित्व २५ वर्षपछि सरकारमा हस्तान्तरण हुन्छ । त्यो अवस्था छल्न बेलायमा गैरआवासीय नेपालीले खरिद गरेको कम्पनीमा एनसेलको स्वामित्व लगेर फेरि नेपालमा स्वामित्व फिर्ता गरि सरकारको मातहत जानबाट रोक्ने खेल भएको अनुमान छ । एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । सतिशलाला आचार्य र परिवारको लगानी रहेको सुनिभेरा एनसेलका लागि आजियाटा समूहको स्थानीय साझेदार हो । अहिले उनै आचार्यको नाममा रहेको कम्पनीलाई आजियाटाले ८० प्रतिशत शेयर पनि बिक्री गरेको हो ।
कम्पनीमा रहेको मलेसियाली आजियाटा समूहको शेयर किनबेचमा प्रधानमन्त्रीदेखि सांसदहरुसम्मले अपारदर्शी भन्दै प्रश्न उठाएका छन् । यो प्रकरणमा विक्रेतालाई लाभकर नलिइकन उम्काउने र समयमै कर नउठाउनेलाई छानविन गर्नुपर्छ । विगतमा भएको कारोबारको छानविनसँगै अहिलेको कारोबारको पनि छानविन आवश्यक छ । अघिल्लो सरकारका पालामा १३÷१३ पटकसम्म एनसेलको कर उठाउने विषयमा छलफल गरी निर्देशन गरेपनि बिक्रेता कम्पनीबाट कर असुल हुन सकेको छैन । एनसेलको शेयर खरिदबिक्री प्रकरणले सुस्त रहेको संसदीय समितिहरु पनि छलफलमा जुटका छन् । अर्थ समिति र लेखा समितिले यसमा छलफल गर्दैछन् । नेपाल सरकारको सहमतिबिना एनसेल किनबेच भएको भए त्यो प्रक्रिया रद्ध गर्नुपर्छ ।