दुधजन्य वस्तुको आयात रोक

 सम्पादकीय

नेपालमा पछिल्लो समयमा उत्पादन भएको दुध बिक्री नहुँदा किसान मारमा परेको खबर देशभरीबाट आएको छ । पछिल्लो समयमा कोशी प्रदेशसहित देशभर नै करोडौंको दुधजन्य वस्तुहरु नबिकेको भन्दै डेरी उद्योगी व्यवसायीहरु सरकारसँग हारगुहार गरिरहेका छन् । कोशीका उद्योगीहरुले बिक्री नभएको पाउडर दुध र घिउ निर्यातको प्रयास पनि गरिरहेका छन् । उनीहरुले त्यसको लागि बंगलादेशमा निर्यातको प्रयास गरिरहेका छन् । सरकारलाई पनि निर्यातको सहज वातावरण बनाउन उनीहरुले आग्रह गरिरेका छन् । किसान र व्यवसायीको समस्यालाई बुझेर नै सरकारले पनि निर्यातमा अनुदान दिने कार्यक्रम ल्याएको छ । किसानहरुको समस्या समाधान गर्न सरकारले पहल भइरहेको जनाएको छ ।

नेपाली दुधजन्य उत्पादन बिक्री नभएर निर्यातको संभावना खोजी भइहरेको बेला दुधजन्य वस्तुको आयात पनि निर्वाध भइहरको ेछ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै ८८ करोड मूल्य बराबरको दुधजन्य वस्तुहरु आयात भएको छ । सरकारले पाउडर दुध आयातमा २०७५ सालदेखि नै कडाइ गरेको भएपनि नाम परिवर्तन गरेर अर्के बहानामा पाउडर दुध आयात भइरहेको उद्योगीहरु बताउँछन् । त्यसो पनि समावेश गर्ने हो भने अर्ब भन्दा बढि मूल्यको दुधजन्य वस्तु आयात भएको उद्योगीहरुको भनाइ छ । भन्सार विभागको तथ्याङ्कमा भने चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्ममा क्रिम, स्किमिल्क दुध पाउडर, बेबि पाउडर, बटरमिल्क, बटर, घिउ, अन्य दुधजन्य वस्तुहरु, चिजलगायत आयात भएको छ । ती २० वटा आइटममा ८८ करोड ३९ लाख १५ हजार रुपैयाँ विदेशीएको छ । गत वर्ष सोही अवधिमा ७७ करोड ६२ लाख ४४ हजारको आयात भएको थियो । दुधको उत्पादन बढेर बिक्री नभएको गुनासो बढिरहेको दुधजन्य वस्तुको आयात बढ्नु अनौठो देखिएको छ ।

गत आर्थिक वर्षमा २६ वटा दुधजन्य वस्तुहरु २ अर्ब ३८ करोड ४६ लाख ६ हजार बराबरको आयात भएको थियो । यो तथ्यांकले एकातिर आफ्नो उत्पादनमा आत्मनिर्भर भइसकेको दुधजन्य वस्तुको आयातमा कडाइ गर्नुपर्ने खाँचो देखिएको छ भने अर्कोतिर नेपालका उद्योगहरुले दुधजन्य वस्तुको विविधीकरणमा जानुपर्ने देखाएको छ । दुध बढी उत्पादन हुँदा विक्रीमा समस्या भइरहेकोले दुधका आइटम निर्माणमा ध्यान दिनुपर्ने खाँचो देखिन्छ । विदेशबाट आयात भइरहेका दुधजन्य उत्पादनका सबै सामग्री नेपालमै उत्पादन हुनसक्छ । सरकारले त्यसमा आवश्यक सहयोग गर्नुपर्छ र आयातमा कडाइ गर्नुपर्छ । कोशी प्रदेशमा अहिले पनि झण्डै ३ लाख किलो बटर र २ लाख किलो पाउडर दुध स्कट रहेको अनुमान छ । तर, अझै नेपालका कतिपय विस्कुट उद्योगले भारतबाट आयात भएको पाउडर दुध प्रयोग गरिरहेको उद्योगी बताउँछन् । विस्कुट उद्योगले नेपालको पाउडर दुध खरिद नगरेको आधारमा उनीहरुको त्यो दावी सत्यको नजिक देखिन्छ ।

दुधको बिक्री कम भएपछि कोशी प्रदेशका ९ वटा डेरी उद्योगल प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएका छन् । डेरीजन्य अन्य उत्पादित सामाग्रीहरुको पनि मूल्य घट्दा केही खपत बढेको उद्योगी बताउँछन् । त्यसैले हचुवाको तवरमा गरिने मूल्यबृद्धिलाई पनि रोक्नुपर्छ । कोशी प्रदेश सरकारले बटर तथा दुध पाउडर विदेश निर्यात गर्ने उद्योगलाई अनुदान दिन ४ करोड बजेट नै छुुट्याएको छ । तर, त्यसले मात्र समस्या समाधान हुँदैन । आयातमा कडाई, निर्यातका लागि वातावरण निर्माण र उत्पादनमा बिबिधिकरण तीनवटै क्षेत्रमा एकसाथ काम गर्नुपर्ने खाँचो छ । त्यसको लागि किसान, उद्योगी र सरकारले आपसी सहकार्यमा काम गर्नुपर्छ ।

मङ्गलबार, १९ मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर