विराटनगर । भरिया प्रयोग गरेर भारतबाट तस्करीमार्फत सुनचाँदीको गरगहना विराटनगरमा ल्याएर बिक्री गर्ने सुनचाँदी व्यवसायी आधा करोड बढी धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।
विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जाना ६० लाख ५० हजार ७५० रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले पक्राउ परेका जानालाई सो रकमको धरौटी तोकेकोमा रकम बुझाएर उनी थुनामूक्त भएका हुन् । कार्तिक २१ गते जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्सबाट सरकारी टोलीले अवैध एक क्विन्टल चाँदीको गरगहना र १३ तोला सुन बरामद गरेको थियो ।
चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्स सञ्चालक विश्वनाथलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध सुनचाँदीको अवैध कारोबार सम्बन्धि मुद्दा चलाएको भन्सार कार्यालयले जनाएको छ । यो मुद्दा फैसला हुन समय लाग्ने बताइएको छ ।
जानाले भारतबाट भन्सार छलेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगरसहित पूर्वाका विभिन्न सुनचाँदी पसलमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुनचाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो ।
जानाको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरु आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ ।
बरामद भएको चाँदी र सुनको परिमाण यकिन गर्न राष्ट्र बैंकको टक्सरा महाशाखामा पठाएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवं गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको छ । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । ‘चाँदी तथा सुनबाट तयार गरिएका वस्तु जस्ताको तस्तै तौल लिँदा एक क्विन्टल बराबरको रहेको छ,’ भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले भने, ‘त्यसलाई गालेपछि मात्रै यकिन परिणाम थाहा हुन्छ ।’
गालेर गहना तथा विभिन्न सामग्री बनाउँदा प्रयोग गरिएको रसायन छुट्याएपछि मात्रै चाँदी र सुनको वास्तविक परिणाम पत्ता लाग्ने बताइएको छ । गालेर चाँदी र सुनको यकिन परिणाम पत्ता लगाउन राष्ट्रबैंकमा पठाएकोले केहि दिनमा यकिन परिमाण खुल्ने उनले बताए ।
भारतको कोलकाता घर भएका जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर सुन–चाँदीका अवैध गहना र सामग्री बरामद गरेको थियो । ज्वलेर्समा छापा मार्दा ठूलो परिणाममा चाँदी र सुनका गहना एवं त्यसबाट बनाइएका विभिन्न सामग्री बरामद भएको थियो । चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोहोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री एवं गरगहना र सुनबाट बनेका मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेससमेतका गहना बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।
ज्वेलर्समा छापा हान्दा बिल बीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको हो ।