सम्पादकीय
राज्य संयन्त्रसँगकै मिलेमतोमा नेपालमा तस्करी, अबैध कारोबार, ठगीको धन्दा चलिरहेको छ । जुनसुकै क्षेत्रमा पनि यस्तो धन्दा चलेको । कतिपय अवस्थामा सुरक्षा संयन्त्रसँगको मिलेमतोमै यस्ता घटना हुने गरेका छन् भने कतिपय अवस्थामा सुरक्षा संयन्त्रको आँखा छलेर यस्तो हुने गरेको छ । शनिबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक काठ मिलबाट चोरीको काठसहित मिल सञ्चालकसमेत पक्राउ परेपछि काठ तस्करीको नयाँ धन्दा बाहिर आएको छ । तस्करीमा काठ मिल संचालक र ढुंगागिटी ढुवानीमा संलग्न टिपर सञ्चालकको संलग्नता देखिनुले वन क्षेत्रमा व्यापक चोरी बढेको अनुमान गर्न सकिन्छ । तस्कर समूहले घना जंगलभित्र टिपर नै प्रवेश गराएर सालको काठ चोरी–तस्करी गरेको देखिएको छ ।
सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले सुन्दरहरैंचा नगरपालिका– १ स्थित हरैंचाबाट चोरी गरेर काठ मिलसम्म पु¥याएको २ लाख मूल्य भन्दा बढीको काठ बरामद गरेको थियो । टिपरमा लोड भएको ठूलो परिमाणको सालको काठ बरामद भएको छ । सशस्त्र वन सुरक्षाको टोलीले केराबारी गाउँपालिका ९ र सुन्दरहरैंचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको ५ वटा सालको टुना (३८.९ क्यूफिट) बरामद गरेको हो । वन सुरक्षा टोलीले टुना बोकेको को १ ख ४४२८ नम्बरको टिपर र हरैचास्थित नेहा स–मिलका संचालक बिन्धेश्वर साहलाई पक्राउ गरेको थियो । तस्करहरुले योजनावद्ध रुपमा वन क्षेत्रबाट स–मिलसम्म काठ तस्करी गरेर ल्याएको पाइएको छ । पूर्व सूचना पाएको वन रक्षकहरुको सुझबुझपूर्ण सुरक्षा रणनीतिका कारण तस्करीमा संलग्नलाई पक्राउ गरेको हो । रातको समयमा टिपरमा काठ लोड भई वनबाट बाहिरिरहेको सूचनापछि काठ र तस्कर नियन्त्रण्मा लिन सफल भएको वन कार्यालयले जनाएको छ ।
यो घटनाले तस्करीमा ठूलो गिरोह संलग्न रहेको खुलेको छ । वनभित्रै टिपर नै प्रवेश गराएर काठ तस्करीको घटना हुनुले ठूलो मात्रामा तस्करी भएको अनुमान गरिएको छ ।
यो कार्यमा तस्कर मात्र संलग्न छन् कि सरकारी निकायको पनि संलग्नता छ भन्ने छानविन हुन आवश्यक छ । जुन ढंगले तस्करी भएको छ, यो सामान्य छैन । त्यसैले चोरी पैठारीको यो घटनामा गम्भीर अनुसन्धान गरि संलग्न सबैलाई कारवाहीको दायारमा ल्याउनुपर्छ । पछिल्लो समय वन रक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैंचा, बेलबारी र कानेपोखरी क्षेत्रको बनबाट काठ तस्करी बढ्दै गएको बताइन्छ । तस्करहरूले काठ मिल र फर्निचर उद्योगसँग मिलेमतो गरेर काठ तस्करी र बिक्री गर्ने गरेको पाइएको छ । सर्वसाधारण नागरिकले नै सम्बन्धित निकायसमक्ष वन क्षेत्रमा काठ तस्करी बढेको गुनासो गरिरहेको र सवडिभिजन वन कार्यालयहरुले त्यस्तो गुनासो बढेको स्वीकार गर्नुले वन क्षेत्रमा पछिल्लो समय तस्करहरुको आँखा लागेको सहज अनुमान गर्न सकिन्छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्छ ।
काठ मिल सञ्चालकसँग मिलेर काठ तस्करी भएको यो पहिलो घटना होइन । यसअघि पनि कानेपोखरी गाउँपालिकाभित्र पर्ने सामुदायिक वन क्षेत्रबाट यस्तै विधिबाट काठ चोरी हुने गरेको तथ्य सार्वजनिक भएको थियो । कानेपोखरी गाउँपालिकाभित्र तीन वटा सामुदायिक वन रहेका छन् । तीन वटै सामुदायिक वनबाट रातको समयमा सालको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको बताइन्छ । तस्करहरूले रूख काट्ने, काटेको ठाउँबाट ढुवानी गरी अर्को ठाउँमा पु¥याउने र गन्तब्यसम्म पु¥याउने तीन छुट्टाछुट्टै समूह प्रयोग गर्ने गरेको यसअघिको अनुसन्धानबाट खुलेको छ । कतिपय सामुदायिक वनको आन्तरिक समस्याका कारण जंगलभित्र लडेका रूखहरूको घाटगद्दी हुन नसक्दा तस्करको रजाईं भइरहेको छ । त्यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।