विराटनगर । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
नेकपा एमालेको सिफारिसका आधारमा निर्वाचन आयोगले पदमुक्त गरेको सूचना प्रकाशित गरेकोमा सर्वोच्चले कार्यान्वयन नगर्न शुक्रबार अन्तरिम आदेश दिएको हो । नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर साहको पद यसअघि निलम्बन गरेको थियो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना हाललाई कार्यान्वयन नगर्नु नगराउनु भन्ने आदेश दिएको हो । आदेशमा निज निवेदिकालाई पूर्ववत् रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् कामकारबाही गर्न दिनु भनिएको छ ।
नेकपा एमालेबाट नगर प्रमुख पदमा निर्वाचित भएकी साह संघीय सांसद प्रभु साहकी श्रीमति हुन् । नेकपा एमालेबाट अलग भई स्वतन्त्र भएर निर्वाचित भएका सांसद साहले आम जनता पार्टी गठन गरेपछि एमालेले मेयर साहलाई पनि पार्टी परित्याग गरेको भन्दै पदमुक्त गर्ने निर्णय गरेर निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
सर्वोच्चले साहले दायर गरेको सिटको सुनुवाई गर्दै पुनर्वहाली गर्न आदेश दिएको हो । सो सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस निर्वाचन आयोगलाई सर्वोच्चले भनेको छ ।
मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि निर्वाचित साह अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । त्यसबेला पनि उनका श्रीमान साह एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कार्वाही गरेर पदमुक्त गरेकोमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।