अबरुद्ध विकास अगाडि बढाउने पहल

 सम्पादकीय

पूर्वपश्चिम राजमार्गको बैकल्पिक सडकको रुपमा दशकौं पहिले निर्माण सुरु भएको हुलाकी सकडको काम अहिले पनि अलपत्र छ । तराईको मध्य भागबाट मेचीदेखि महाकाली जोड्ने सडकको कतिपय भाग निर्माण भएपनि कतिपय क्षेत्रको काम भने अलपत्र छ । एकातिर सडक निर्माण सकिएर भत्कने अवस्था हुँदा पनि अर्को खण्डमा निर्माण सुरु नभएको अवस्था रहेको छ । जसले समग्र तराई मधेशको विकासमा समस्या पैदा गरिरहेको छ । हुलाकी सडकको मोरङ खण्ड पछिल्लो समयमा धेरै निर्माण भएको छ । तर, कतिपय खण्डको काम अझै अलपत्र छ । देव एण्ड सायर÷भूमि ज्वाइन्ट भेन्चरले ठेक्का पाएको विराटनगरको जामुखगाछी–केशलीया खण्ड त्यसमध्ये एक हो । सडक निर्माण गर्दागर्दै काम छोडेर ठेकेदार बेपत्ता भएपछि जामुनगाछी क्षेत्रका स्थानीयले वर्षौदेखि सास्ती भागिरेका छन् । उनीहरुले सडक बनाउन माग गर्दै पटक पटक आन्दोलन पनि गरेका थिए ।

गएको स्थानीय तह र त्यसपछि भएको आम निर्वाचनमा स्थानीयवासीले सडक बनाउन पहल नगरेको भन्दै त्यस क्षेत्रमा उम्मेदवार प्रवेशमा रोक लगाएर विरोध गरेका थिए । मोरङ क्षेत्र नम्बर ६ का सांसद तथा तत्कालीन समयका उम्मेदवार डा.शेखर कोइरालाले चुनावलगत्तै ठेकेदार बोलाएर सडक बनाउन पहल गर्ने सार्वजनिक घोषणा गरेका थिए । विराटनगरका मेयर नागेश कोइरालाले ठेकेदार खोजेर काम सुरु गराउने जिम्मा नै लिने बताएका थिए । तर, लामो समयसम्म घोषणा गर्ने नेताहरुले आफ्नो प्रतिबद्धता बिर्सेपछि सडक निर्माण कार्य अलपत्र बनेको थियो । अहिले भने सडक निर्माणको काम सुरु भएको हो । ठेकेदार कम्पनी र हुलाकी राजमार्ग निर्देशनालय बबरमहलका आयोजना निर्देशकबीच गतसाता भएको छलफल सकारात्मक बनेपछि ठेकेदार कम्पनीले कामलाई अगाडि बढाएको हो ।

सडक अयोजनाका अनुसार पछिल्लो बैठकपछि काम अगाडि बढेको छ । त्यसको सहजीकरण भने नेकपा एमालेका महानगर अध्यक्ष सागर थापाले गरेका थिए । सडक खण्डको आयोजना सम्झौता अवधि समाप्त हुने अवस्थामा असार मसान्तसम्म म्याद थप गर्ने र स्थानीयको माग अनुसार सडकको डिजाइन परिवर्तन गर्न निर्देशनालय तयार भएपछि काम अगाडि बढेको हो । सडक निर्माण अलपत्र हुँदा सडक आसपासका स्थानीयले धुलो र हिलोको सास्ती मात्र बेहोर्नु परेको थिएन, सुनसरीको बर्जुलगायत हुलाकी सडकबाट यात्रा गर्ने हजारौंले हैरानी बेहोर्नु परेको थियो । सुरुमा सडकको डिजाइन आवश्यकताभन्दा अग्लो भएको र त्यसले स्थानीय बस्ती डुबानमा पर्ने भन्दै केहि स्थानीयले काममा अवरोध गरेपछि ठेकेदार कम्पनी काम छोडेर हिँडेको थियो । अहिले साइडको कण्डिसन अनुसार सडकको डिजाइन लेवल परिमार्जन गर्न आयोजना सकारात्मक भएपछि काम अगाडि बढेको हो ।

सडक अग्लो हुँदा स्थानीयले बस्ती डुब्ने चिन्ता व्यक्त गरेको र विराटनगर विमानस्थलमा पनि पानी जम्नसक्ने जोखिमलाई ध्यान दिएर परियोजना सडकको उचाइ घटाउन तयार भएको हो । त्यससँगै सडकको पूरै खण्ड कालोपत्रे गरेर बीचमा डिभाइर राख्ने गरी डिजाइन संशोधन गर्ने सहमति बनेको छ । निर्वाचित जनप्रतिनिधिहरुले जनताको सरोकार सम्बोधन गर्नुपर्नेमा उनीहरु गम्भीर नबनेपछि थापाले आफ्नो सक्रियता बढाएका थिए । विकासको काममा ध्यान दिनुपर्ने निकाय गम्भीर नभएपछि नागरिक तहबाट गरिएको प्रयास सफल हुनु सकारात्मक हो । यसलाई हौसला दिनुपर्छ । काममा खबरदारी गर्दै छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सबै सम्बन्धित पक्षको तदारुकताको खाँचो छ । त्यसमो स्थानीयबासीले पनि सरकारात्मक सहयोग गर्नुपर्छ ।

मङ्गलबार, २१ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर