कोरोनाबाट मृत्यु भएमा शव व्यवस्थापन गर्न टोली तयार

विराटनगर । महामारीको रूपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) बाट कसैको मृत्यु भइहालेमा मृतक शवलाई व्यवस्थापन गर्न मोरङ प्रहरीले विशेष टोली तयार पारेको छ ।

मोरङ प्रहरीका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा प्रराम्भिक चरणमा १० जनाको प्रहरी जनशक्ति तयार भएको हो ।

तयार भएको जनशक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा अनुशिक्षण तालिम प्रदान गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको शव व्यवस्थापन टोली तयार भएको जानकारी दिँदै उहाँले उक्त टोली आवश्यकता अनुसार विस्तार गरेर अगाडि बढ्ने बताउनु भयो ।

कोराना मानिसबाट मानिसमा सहजै सर्ने खतनाक भाइरस भएका कारण संक्रमित व्यक्तिको छेउमा पुग्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ । यो भाइरसबाट कसैको मृत्यु भइहाले मृतकको शव कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतिपूर्ण छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार मोरङ प्रहरीले उक्त टोलीलाई अनुशिक्षण प्रदान गरेको हो ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार अन्य रोगी मृतकको जस्तो सहज नहुने भएकोले त्यसका लागि प्रहरीले यो विशेष टोली बनाएको हो । अनुशिक्षणका क्रममा पिपिईको प्रयोग, शव व्यवस्थापनका क्रममा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षासम्बन्धि सतर्कताबारे प्रशिक्षण दिइएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा ५० वेडको कोरोना अस्पताल संचालित छ । यहाँ सोमबार साझ ३१ जना कोरोना संक्रमितको चिकित्सकहरुको प्रत्यक्ष निगरानी र आवश्यक उपचार भइरहेको छ । यहाँ रहेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । देशभरीमा ५२ जना संक्रिमित पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १६ जना निको भएर घर गएका छन् ।

यसरी हुनेछ कोरोनाबाट मृत्यु भएकाको अन्तिम संस्कार
मन्त्रालयले तयार गरेको कार्यविधी अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव उठाउनुअघि शवबाहनका चालक र टोलीले पीपीई अनिवार्य लगाउनु पर्छ । अन्तिम संस्कारमा सहभागी हुन सीमित आफन्तले पाउनेछन् । उनीहरुले पनिस पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने हुन्छ ।

मृतकको शवलाई कमभन्दा कम छुने चलाउने गर्नुपर्छ । उपचारका क्रममा मृत्यू भएका व्यक्तिमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाइन्छ । ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै कसैलाई जान दिइन्न भने आफन्तले शवलाई नछोई पानी छर्किने, पाठ गर्ने तथा फुलमाला चढाउने काम गर्नुपर्छ ।

मृतकको आफन्तले शव हेर्न चाहेमा कम्तिमा एक मिटर टाढैबाट हेर्नुपर्छ ।

सोमबार, १५ बैशाख, २०७७, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर