विराटनगर । बिरामीलाई अति आवश्यक पर्ने औषधिको दुरूपयोग कोशी प्रदेशको तराईको जिल्लाहरूमा भयवह बन्दै गएको छ । औषधिको दुरूपयोग गरी लागूऔषधको रुपमा प्रयोग गर्ने र कानुनविपरीत बिक्रीवितरण गर्ने गिरोहले कोशी प्रदेशका मुख्य सहर र ग्रामीण केन्द्रहरुमा सञ्जाल बनाएरै सक्रिय भएको पाइएको हो ।
बिरामीले सेवन गर्ने औषधिको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह सबैभन्दा बढी सुनसरीमा रहेका छन् । सुनसरीपछि मोरङ, झापा र उदयपुरमा अधिक छन् । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधिलाई मिश्रण गरेर लागूऔषध बनाएर युवापुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधि बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गरिनुपर्ने औषधि रहेको विभागले जनाएको छ । तर, यहाँ यी औषधिको चरम दुरूपयोग बढेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।
प्रत्येक वर्ष औषधिको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको संख्या बढेको कारणले अदालतमा मुद्दा संख्या पनि बढ्दो रहेको डिडिएको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा औषधिको दुरुपयोग गर्ने विरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएको छ । यो संख्या प्रत्येक वर्ष बढ्दो रहेको छ । चालु आर्थिक वर्षको कार्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएको छ ।
डिडिए विराटनगरले अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा औषधिको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा अदालतमा दर्ता गरेको देखिन्छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । औषधि ऐन, २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ । जुन जिल्लाबाट औषधिको अनुचित प्रयोग गरेको आरोपमा प्रतिवादी पक्राउ गर्यो तेही जिल्लाको सम्बन्धित अदालतमा अभियोग लैजानुपर्ने हुन्छ । जसले गर्दा कम जनशक्ति भएको डिडिएमा काम गर्न कठिनाए हुने गरेको कर्मचारी बताउँछन् ।
विभागले गरेको अनुसन्धानबाट डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने गरेको चिकित्सकले बताएका छन् । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ ।
‘प्रतिबन्धित औषधिहरू भारतदेखि भित्र्याएपछि पूर्वी सरहमा भण्डारण गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ कार्यालय प्रमुख मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधिको चरम दुरूपयोग गर्दै गिरोहले दुव्र्यसनीमा लागेका युवाहरूलाई महंगो मुल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । उनीहरूले डाइसाइक्लोमाइनउस, ट्रामाडोल र प्रिगावालिन मिसाएर लागूऔषध बनाएर बिक्री गरेको पाइयो ।’ यसरी औषधिलाई लागूऔषध बनाएर बिक्री वितरणमा गर्नेमा औषधि पसल संचालन गर्ने संचालकहरू पनि रहेका छन् । प्रतिबन्धित औषधि ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म बिक्री वितरण गर्ने गरेको छन् । प्रतिबन्धित औषधिलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केरावारी, बेलवारी, उर्लावारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा बिक्री वितरण गर्दै आएका छन् ।
पक्राउ परेका प्रतिवादीहरुले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधि भारतमा खरिद गरेर पूर्वी सहरहरुमा ल्याएर उक्त औषधि लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधिलाई लागूऔषध बनाएर पूर्वी सहरमा पु¥याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियमक नियाको ध्यान नजाने भएकोले औषधिको दुरुपयोग गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
यसरी औषधिको दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी कमाउधन्दामा केही फार्मेसी संचालकहरू पनि संलग्न रहेको विभागले जनाएको छ । ‘पूर्वी सहरमा औषधिको दुरुपयोगको अवस्था भयवाह रहेको छ । प्रयाप्त जनशक्ति नभएको कारणले डिडिए एक्लैबाट मात्र यसको नियन्त्रण सम्भव छैन । यसलाई सामाजिक मुद्दा बनाएर सबै क्षेत्रको निकाय रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘प्रहरीको संयन्त्र हरेक स्थानीय तहसम्म र बोर्डरसम्म पुगेकाले प्रहरीको थप भूमिका दिनुपर्ने अवस्था छ ।’
ओभरडोजले ज्यानै जान्छ : चिकित्सक
डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रुपमा सेवन गर्दा शरीर र मानसिक रुपमा असर गरी स्मरणशक्तिमा ह्रास आउनुको साथै ओभर डोजले ज्यान जानसक्ने खतरा हुने डा. रोशन खड्काले बताए । ‘यसको अधिक मात्रमा प्रयोगले मानसिक समस्या मात्र गर्दैन । ओभर डोजले ज्यान जानसक्नेसम्म खतरा हुने गर्दछ,’ डा. खड्काले भने, ‘स्वाश्स प्रश्वासमा समस्या भएर पेटमा पनि थुप्रै समस्या हुने गर्दछ ।’