काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा नेपालले आज (मंगलबार) मलेसियासँग खेल्दैछ । दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल शुरू हुनेछ ।
घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ । नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि अलराउन्डर दिपेन्द्र सिंह ऐरले आजको खेल गुमाउनेछन् ।
नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।
आजको पहिलो खेलमा टियु क्रिकेट मैदानमा बिहान ९ बजे सिंगापुर र ओमान खेल्नेछन् । मुलपानीमा हुने खेलमा हङकङले बहराइनसँग खेल्नेछ । मुलपानीमा दोस्रो खेलमा कुवेत र युएई भिड्नेछन् ।
आजको खेलमा नेपाल, ओमान, युएई र हङकङ विजयी भएमा सबै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउनेछन् ।