विराटनगर । सत्ता साझेदारी र सरकार विस्तारको लागि निर्णायक भनिएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेकपा एमालेबीचको छलफल निश्कर्षहिन भएको छ ।
मुख्यमन्त्री कार्यालयमा सोमबार भएको छलफलमा सरकार विस्तार, प्रतिस्थापन विधेयक ल्याउने र सदन सञ्चालनबारे छलफल भएपनि निश्कर्ष नआएको नेताहरुले बताएका छन् । छलफलमा एमालेबाट संसदीय दलका उपनेता एवं विनाविभागीय मन्त्री रामबहादुर मगर र प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा मुख्यमन्त्री कार्की र मन्त्री शमशेर राई सहभागी थिए । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की भने काठमाडौंमा रहेकोले आजको छलफलमा थिएनन् ।
छलफलमा मन्त्रिमण्डल विस्तार गरेपछि मात्रै बजेट पास गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । तर, मन्त्रीमण्डल विस्तार गर्ने विषयमा भने कुनै सहमति भएन । एमालेले सरकारमा तत्काल आफ्नो पार्टीका मन्त्रीहरु सहभागी गराउन दबाब दिएपनि मुख्यमन्त्रीले कुनै निर्णय गरेका छैनन् ।
‘हामीले भोलि नै मन्त्रीमण्डल विस्तार गरौँ भनेर मुख्यमन्त्रीलाई भन्यौ’ भण्डारीले भने, ‘उहाँले काँग्रेस संसदीय दलको नेतासँग पनि छलफल गर्छु भन्नुभयो ।’ एमालेले आजको छलफलमा पनि सरकारमा काँग्रेस र एमाले मात्र सहभागी हुनुपर्ने अडान राखेको छ । ‘त्यसबारे भोलि काँग्रेस संसदीय दलका नेता उद्धब थापासँग पनि छलफल गर्नेछौं’ उनले भने, ‘काँग्रेस र एमालेलाई मात्रै समेटेर मन्त्रिमण्डल विस्तार गर्नुपर्ने आफूहरुको अडान कायमै छ ।’
नेकपा एमालेले केन्द्रमा भएको गठबन्धनलाई जस्ताको त्यस्तै प्रदेश सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । ‘हामीले पहिला जे भन्दै आएका थियौ । अहिले पनि त्यही कुरा मुख्यमन्त्रीलाई भनेका छौं’ भण्डारीले भने, ‘मुख्यमन्त्रीले सहमतिको सरकार बनाउने भनेपनि त्यो संभावना छैन ।’ राप्रपाले प्रमुख प्रतिपक्षी दलमा बस्ने भनेर निवेदन नै दिएको अवस्थामा मुख्यमन्त्रीले अल्मल्याउनका लागि मात्रै सहमतिको सरकार भभनेको भण्डारीको भनाइ छ ।
आइतबार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउनका लागि मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको बताएका थिए । त्यसपछि एमाले तनाबमा छ । उसले तत्काल सरकार विस्तार गर्नुपर्ने र आफ्नो दललाई ५ वटा मन्त्रालय दिनुपर्ने अडान राखेको छ । सोमबारको छलफलमा पनि काँग्रेसले ४ वटा र एमालेले ५ वटा मन्त्रालय लिनुपर्ने अडान राखेको भण्डारीले जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका विनाविभागीय मन्त्री शमशेर राईले चाडै विस्तार गर्ने सहमति भएको बताए । उनले प्रदेशमा सहमतिको सरकार बन्ने संभावना रहेको भन्दै गठबन्धनबाहेकको सरकार नबन्ने स्पष्ट पारे । ‘गठबन्धनसहित वा गठबन्धन बाहेकको सरकार हैन’ उनले भने, ‘गठबन्धनमा एउटा शक्ति(एमाले) थपिएको रुपमा बुझ्नपर्छ ।’ गठबन्धन तथा एमालेसँग छलफल गर्ने जिम्मा संसदीय दलका नेता उद्धव थापालाई दिएको उनले बताए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेसबाट विद्रोह गरेका ८ सांसदसहित नेकपा एमालेको सथर्मनमा कार्की असोज २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले कार्तिक १ गते प्रदेशसभाबाट राप्रपाबाहेक सबै दलको विश्वासको मत पाएपनि सरकार विस्तार गर्न सकेका छैनन् ।
काँग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री भएपनि कार्कीलाई गठबन्धनले पनि स्वीकार गरिसकेको छ । गठबन्धनलाई प्रदेशमा बलियो बनाउने र एमालेलाई सरकारबाहिर पठाउने गठबन्धनको निर्णय छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि गठबन्धनको बैठकमा सोहि अनुसार प्रतिबद्धता पनि जनाएका थिए । तर, एमालेको समर्थनमा मुख्यमन्त्री भएका उनलाई निर्णय लिन सकस परेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि सत्तारुढ गठबन्धनको बैठकमा गएर दशैं लगत्तै एमालेलाई सरकारबाट बाहिर पठाउने र गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता जनाएका थिए । एमालेले भने आफूहरूसँग मुख्यमन्त्रीले पूर्व सहमति अनुसार नै अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताउँदै आएको छ ।
गठबन्धनलाई कायम राख्नुपर्ने पार्टी र गठबन्धनको निर्णय तथा मुख्यमन्त्री समर्थन गर्ने दल एमालेको चेपुवामा मुख्यमन्त्री कार्की परेका छन् । जसले गर्दा उनीले असोज २८ गते नियुक्त भएका विनाविभागीय मन्त्रीहरु एमालेका रामबहादुर मगर र काँग्रेसका समशेर राईलाई मात्र लिएर सरकार सञ्चालन गरिरहेका छन् । सरकार विस्तार नहुँदा अध्यादेशबाट आएको बजेट प्रतिस्थापन गर्ने प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन ।
एमालेले यसअघि विश्वासको मत पाएकै भोलिपल्ट कात्तिक २ गते नै सरकार विस्तार गर्नुपर्ने दबाब मुख्यमन्त्रीलाई दिएको थियो । तर, नेताहरुसँग परार्श गर्ने भन्दै काठमाडौँ हान्निएका मुख्यमन्त्री कर्की दशैं बिदा सुरु भइसकेपछि मात्रै फर्किए । त्यसपछि एमालेले दशैं बिदा सकिएलगतै गत शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएको थियो । कार्की फेरि काँग्रेस केन्द्रीय समितिले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन काठमाडौँ पुगे । एमालेले त्यसपछि आइतबार सरकार विस्तार हुने अपेक्षा गरेकोमा मुख्यमन्त्री कार्की आइतबार दिनभर झापाको कार्यक्रममा सहभागी भएर साँझ मात्रै विराटनगरमा आएका थिए ।
सोमबार भएको छलफलमा एमालेले मंगलबार नै मन्त्रीमण्डल विस्तार गर्न दबाब दिएको छ । तर, मुख्यमन्त्री कार्कीले अझै छलफल बाँकी रहेको बताएका छन् । सरकार विस्तारको तिथि मिति र समयको कुनै टुंगो नलागेको सरकारका प्रवक्ता राईले बताए ।