विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूहरुसँग भएको सहमति अनुसार सरकार विस्तार गरेको भन्दै नेकपा एमालेले आज उनीसँग छलफल गर्ने भएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरेको भन्दै एमाले असन्तुष्ट छ ।
कार्कीले विभिन्न कारण देखाउँदै मन्त्रिपरिषद् विस्तारलाई धकेलिरहेका छन् । कार्कीलाई समर्थन गरेको एमालेले काँग्रेस र एमालेको सरकार बन्नुपर्ने अडान राखेको छ भने कार्कीले सहमतिको सरकार बनाउने बताउँदै आएका छन् । उत्ता काँग्रेस र माओवादीसहितको गठबन्धनले भने कार्कीलाई आफूहरुले स्वीकार गरिसकेकोले अब प्रदेशमा गठबन्धनकै सरकार बन्ने
अडान राखिरहेको बेला मुख्यमन्त्री भने अनिर्णित छन् ।
कात्तिक १ गते विश्वासको मत लिएका कार्कीमाथि २ गते सरकार विस्तार गर्नुपर्ने एमालेको दबाब थियो । तर, उनी एमालेको दबाब पन्छाएर परामर्श गर्न भन्दै काठमाडौं पुगे । दशैं विदा सुरु भइसकेपछि विराटनगर फर्किएका मुख्यमन्त्रीलाई एमालेले दशैं विदा सकिएपछि गत शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएको थियो । तर, उनी काँग्रेस केन्द्रीय समितिले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने फेरि काठमाडौं पुगे । त्यसपछि एमालेले आइतबार सरकार विस्तार गर्न दबाब दिएको थियो । मुख्यमन्त्री आइतबार पनि दिनभर झापाको कार्यक्रममा सहभागी भए ।
आफूले समर्थन गरेर मुख्यमन्त्री भएका कार्कीले गठबन्धनको योजना अनुसार आफूहरुलाई अल्मल्याइरहेको भन्दै एमाले रुष्ट बन्दै गएको छ । उसले काँग्रेस र एमालेको सरकार बाहेक अन्य विषयमा छलफल नहुने भन्दै आज निर्णायक छलफल गर्ने बताएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीसँग मन्त्रीमण्डल विस्तार, बजेट प्रतिस्थापन, मन्त्रीको कार्यविभाजन, प्रदेशसभा बैठक आह्वानलगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् । आजको बैठकबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय आउनसक्ने उनको भनाइ छ ।
सरकारका प्रवक्ता तथा मन्त्री शम्शेर राईले पनि आजको छलफलले कुनै न कुनै निष्कर्ष निकाल्ने दाबी गरेका छन् । मुख्यमन्त्रीज्यूले आज एमालेसँग मन्त्रीमण्डल विस्तारकै विषयमा छलफल गर्ने उनले जानकारी दिए ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला निकट कार्कीले आफूसहित कांग्रेसका ८ सांसदको विद्रोहबाट संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका थिए । काँग्रेसभित्रको विद्रोहपछि सत्तारुढ गठबन्धनले अगाडि मुख्यमन्त्रीको रुपमा अगाडि सारेका इन्द्रबहादुर आङ्बोलाई फिर्ता गर्दैै कार्कीलाई नै समर्थन गरेको थियो ।
प्रदेशसभाबाट राप्रपाबाहेक सबै दलबाट विश्वासको मत पाएका कार्कीले सरकार विस्तारमा एमालेलाई सामेल गराउने कि गठबन्धनलाई भन्ने निर्णय लिइसकेका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि सत्तारुढ गठबन्धनको बैठकमा गएर दशैंलगत्तै एमालेलाई सरकारबाट बाहिर पठाउने र गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता जनाएका थिए । उता एमालेले भने आफूहरुसँग मुख्यमन्त्रीले पूर्वसहमति अनुसार नै अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताउँदै आएको छ ।
अहिले कार्कीको सरकारमा एमालेका रामबहादुर मगर र विद्रोही काँग्रेसका शमशेर राई विनाविभागीय मन्त्री छन् । एमालेले आफ्नो पार्टीलाई ५ मन्त्रालय दिनुपर्ने दावी गर्दै सरकारमा पठाउने व्यक्तिहरु पनि टुंगो लगाइसकेको छ । तर, मुख्यमन्त्री कार्कीले भने सरकार विस्तारको निर्णय लिन ढिलाइ गरेको बेला आजकै बैठकले टुंगो लगाउने विश्वास एमालेको छ । ‘यसअघि चाडबाडको समय भएकोले छलफल भएन, आजको छलफलले कसरी अगाडि बढ्ने भन्ने विषय क्लियर होला,’ एमालेका प्रमुख सचेतक भण्डारीले भने ।
एमालेले पाचकर्ण राई, एकराज कार्की र लिलाबल्लभ अधिकारीलाई मन्त्री तथा सिर्जना राई, रामप्रसाद मेहता र निरन राईलाई तत्काल राज्यमन्त्री नियुक्त गर्न दबाब दिइरहेको स्रोत बताउँछ । डा. शेखर कोइरालाले पनि अब गठबन्धनको मर्म अनुसार चल्न कार्कीलाई निर्देशन दिएकोले कार्कीले एमालेबाट मन्त्री थप गर्न नचाहेको स्रोतको भनाइ छ ।
सरकार विस्तारका लागि दिएको समय पटक–पटक सार्न थालेपछि एमाले भने मुख्यमन्त्री कार्कीसँग रुष्ट छ । संविधानको धारा १६८ को ५ अनुसारको सरकार भएकाले समर्थन फिर्ताको औचित्य नहुने र दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भएकाले मुख्यमन्त्री कार्कीले के गर्छन् भन्ने विषयमा दुवै पक्ष अन्यौल र आशङ्काको बिचमा छन् ।