संक्रमणकालीन न्याय टुंग्याउने अवसर

 सम्पादकीय

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्रीसँगको भेटपछि नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए । नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले जनाएका छन् । संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्ने पनि उनले जोड दिएका छन् । नेपालको संक्रमणकालीन न्यायको विषय हाम्रो देशमा लामो समयदेखि कचपल्टिँदै आएको छ । शान्ति प्रक्रियाको १८ वर्ष बितिसक्दा पनि अझै न्याय, सत्य निरुपण र मेलमिलापको काम सम्पन्न हुन नसकेको अवस्था छ ।

नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विषय सकसमा रहेका बेला गुटरेसको नेपाल भ्रमण आफैंमा महत्वपूर्ण छ । किनकि नेपालको शान्ति प्रक्रियाको सुरुवातकै मध्यस्तकर्ता र हिस्सेदार राष्ट्रसंघ हो । नेपालको सशस्त्र द्वन्द्वका समस्यालाई टुंगोमा पुर्याउन विश्व राष्ट्रहरूको अभिभावकीय संस्था राष्ट्रसंघको भूमिका सहयोगी हुनसक्छ । प्रधानमन्त्री प्रचण्डले त्यसैले पनि महासचिव गुटेरेसलाई नेपाल निम्त्याएका थिए । शान्ति प्रक्रियाको काम सम्पन्न गर्न संक्रमणकालीन न्यायसम्बन्धि विवाद समाधान गर्न पनि दलहरु करिब सहमतिमा पुगेको बेला महासचिवको भ्रमणले त्यसलाई निश्कर्षमा पुर्याउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । कानूनी प्रबन्धमा समझदारी, राष्ट्रिय मतैक्यता तथा पीडितमाथि न्यायको प्रतिबद्धता पुरा गर्न सबै दलहरु पनि गम्भीर हुनुपर्छ ।

अहिले पनि युद्ध लडेका, त्यसमा परेका÷पारिएका, घाइते भएका, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पीडादायी छ । ज्यादतीपूर्ण रूपमा मारिएका निर्दोषका परिवारले अझै न्याय पाएका छैनन् । यो अल्झनलाई टुंग्याउन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ छिटोभन्दा छिटो पारित गर्नुपर्छ । द्वन्द्वलाई अन्त्य गर्नेगरि न्याय, मेलमिलाप र सजायका प्राबधान सहि ढंगले प्रयोग गर्नुपर्छ । नेपालको विशिष्ट शान्ति प्रक्रियालाई आफ्नै विशिष्टतासहित पूर्णता दिन अब ढिलो गर्नु हुँदैन । राष्ट्रसंघ महासचिवको भ्रमणसँगै सरकार र दलहरुले संक्रमणकालीन न्यायको विषय दीर्घकालसम्मकै लागि टुंग्याउने गरि अगाडि बढ्नुपर्छ ।

सोमबार, १३ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर