विराटनगर । दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले कात्तिक २५ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । शनिबार विराटनगरमा शुभकामना आदानप्रदान गर्न गठित बाबुराम कार्कीको संयोजकत्वको बैठकले कार्यक्रमको तयारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराउने र ५ हजार भन्दा बढीको सहभागिता जुटाउने निर्णय गरेको एमाले मोरङले जनाएको छ ।नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख तथा कार्यक्रम प्रचार समितिका संयोजक सन्तोष बान्तवाकाअनुसार कार्यक्रममा प्रदेशभरका पार्टीका नेताकार्यकर्ताका साथै मोरङका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहनेछ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरेको वान्तवाले बताए । उनकाअनुसार प्रचारप्रसारको जिम्मेवारी प्रचार विभागले गर्ने छ भने आन्तरिक व्यवस्थापनको काम मोर्चा विभाग र महानगर कमिटीका अध्यक्षलगायतलाई दिइएको छ । यस्तै सांस्कृतिक कार्यक्रमको जिम्मेवारी जनसांस्कृतिक महासंघलाई दिइएको छ । यस्तै आर्थिक लगायतका अन्य क्षेत्रको जिम्मेवारी पार्टी अध्यक्ष ऋषिकेश पोखरेल तथा कार्यक्रम संयोजक बाबुराम कार्कीलगायतले हेर्ने गरी जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख बान्तवाले जानकारी दिए ।