काठमाडौं । चीन भ्रमणका क्रममा माइनर हृदयघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’ भएका छन् ।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार ब्यक्त गरेका छन् । आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति उनले आभार व्यक्त गरे ।
उपप्रधानमन्त्री श्रेष्ठ बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।