विराटनगर । दसैँ तथा तिहार पर्वको बेला कोशी प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न ७ हजार भन्दा बढी प्रहरी नियमित परिचालन गरिने भएको छ । चाडपर्वको बेला हुनसक्ने विभिन्न अवाञ्छित क्रियाकलाप र अपराधलाई नियन्त्रण गर्न ७ हजार ५१५ जना प्रहरी काममा खटिने गरी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुरक्षा योजना कार्यान्वन गरिने जानकारी दिएको हो । कोशी प्रदेशमा कार्यरत १० हजार प्रहरीमध्ये २५ प्रतिशत अर्थात दुई हजार ५०० प्रहरीमध्ये केही पर्व विदामा बस्नेछन् ।
प्रहरी कार्यालय विराटनगरले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न ‘चाडपर्व लक्षित सुरक्षा योजना’ लागू गरेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरी ‘चाडपर्व लक्षित सुरक्षा योजना’ बनाएर कार्यान्वयन गरिरहेको छ ।
चाडपर्वको समयमा धेरै भीडभाड हुने र त्यसको मौका छोपी चोरी, लुटपाट लगायत विभिन्न आपराधिक क्रियाकलाप, जबर्जस्ती चन्दा संकलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुने सम्भावना बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ । चाडपर्वका बेला सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरुप सुरक्षा रणनीति अपनाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । ‘सम्भावित गतिविधि तथा घटना नियन्त्रण गर्न र यात्रुलाई तत्कालै सुरक्षा दिन प्रहरी सचेत र तयारी अवस्थामा छ,’ डिआइजी बास्तोलाले भने, ‘चाडपर्वका बेला सुरक्षा प्रक्रिया प्रभावकारी बनाउन अन्य बेलामा भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरेका छौं ।’
उनका अनुसार चाडपर्वका बेला कार्यालयको सुरक्षा प्रयोजन बाहेक पूर्वसुरक्षाकर्मीलाई ड्युटीमा खटाइएको छ । धेरै भीड हुने तथा यात्रुको धेरै आवागमन हुने कोशी प्रदेशको २८ स्थानमा ‘यात्रु सहायता कक्ष’ को स्थापना गरिएको छ । यात्रु सहायता कक्षमा २४ सै घण्टा प्रहरी उपलब्ध हुने बताइएको छ । समस्यामा परेको कुनै पनि यात्रुले प्रहरीको सहयोग लिन सक्ने प्रहरीले जनाएको छ ।
यस क्रममा नियमित तथा आकस्मिक प्रहरी जाँच, भिगरेस चेकिङ, ओभर स्पिड, ओभरलोड चेकिङ, सीमा क्षेत्रमा कडा जाँच गर्नुका साथै पटका आतसबाजीको प्रयोग तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’, डिइआजी बास्तोलाले भने । बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले ठूलो मात्रामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विभिन्न आपराधिक संलग्न भएका व्यक्तिको निगरानी गर्न र सूचना संकलन गर्न बनाएर ठुलो संख्यामा सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको डिआइजी बास्तोलाले बताए । शंकास्पद व्यक्तिमाथि जुनसुकै बेला सर्च गर्न सक्ने अधिकार उक्त टोलीले पाएको छ ।
अपराध भइहाले पनि अपराधी उम्कन नदिन एम्बुसिङ र निगरानी गरी विशेष सर्चको व्यस्था गरिएको छ । स्ट्राइकिङ टोली पनि गठन गरिएको छ । जसले चोरी, डकैती र कुनै पनि अपराध भएको खबर पाउनासाथ घटनास्थल पुग्नेछ । हतियारसहितका क्विक रेस्पोन्स टिम (क्युआरटी) बनाइएको छ । झैझगडा, लुटपाट जस्ता अपारध भएको खबर पाउनासाथ हतियारसहितको क्युआरटी टिम घटनास्थल पुग्ने व्यवस्था मिलाइएको बताइएको छ ।
विराटनगरको सीमा नाकामा कुकुर गस्ती
विराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।
कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ । नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत कडा जाँच गरिने प्रहरीले जनाएको छ । तिहारमा पटका भित्रिन सक्ने भएकाले नाकामा थप कडाइ आवश्यक परेको प्रहरीले जनाएको छ ।
यसबाहेक राजधानीका अन्य ठाउँमा पनि आवश्यकता अनुसार कुकर परिचालन गरिनेछ । कुकुर परिचालनका लागि प्रहरी टोली पनि बनाइएको छ । चाडपर्वको बेला सरकारी कार्यालय बन्द हुने भएपनि अपराध गर्ने सरकारी कार्यालय निसाना बनाउन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरी सचेत छ ।
महत्वपूर्ण सरकारी कागजात, सरकारी सम्पत्ति लगायतको सुरक्षामा पनि प्रहरी टोली परिचालन गरिने भएको छ ।