विराटनगर । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले विशिष्ट अवस्थामा कोशी प्रदेश नेकपा एमालेसँग सहकार्य गरेर सरकार बनाएको भए पनि अन्य प्रदेश र संघीय सरकारमा एमालेसँग सहकार्य नहुने बताएका छन् ।
कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि मात्र एमालेसँग सहकार्य गर्नुपर्ने परिस्थिति बनेको भन्दै नेता कोइरालाले यो सहकार्य अरु प्रदेशमा विस्तार नहुने वा संघीय सरकारमा पनि यसको असर नपर्ने स्पष्ट गरे ।विराटनगर विमानस्थलमा साँझ पत्रकारहरुसँग कुरा गर्नुहँुदै नेता कोइरालाले अन्य प्रदेशमा सरकार परिवर्तनको प्रयास भइरहेको भन्ने विषय सत्य नभएको भन्दै विशेष परिस्थितिका कारण मात्र कोशीमा यस प्रकारको घटना हुनपुगेको बताए । ‘कोशीमा विशेष खालको परिस्थिति थियो,’ उनले भने ‘तपाइँहरूले पनि बुझ्नु भएकै छ । केन्द्रमा पनि गठबन्धनसँगै बहुमत भएकाले कहीँ कतै पनि सरकार परिवर्तन हुँदैन ।’
नेकपा एमालेसँग सहकार्य नगरेको भए कोशी प्रदेश मध्यावधिमा जाने निश्चित रहेको दाबी गर्दै कोइरालाले भने ‘कोशीमा अहिले पनि हेर्नुहोस् त राप्रपाले विपक्षमा भोट हाल्यो नि १ त्योबेला पनि हालेको भए त मध्यावधिमा जान्थ्यो नि १ राप्रपाले सभापति जीसँग, प्रधानमन्त्री जीसँग कुरा गरेकै होला । हामीसँग पनि केन्द्रका नेताहरूले कुरा गरेकै थिए । राप्रपाले भनेको कुरा बुझेर पनि यहाँ अहिले यस्तो बनेको हो ।’ कोशीमा के हुन्छ के हुन्छ भन्ने दुविधाकै बिचमा आफूले परिस्थितिलाई सङ्ल्याउन खोजेको भन्दै नेता कोइरालाले मध्यावधिमा जानुभन्दा पहिले नै समाधान खोजिएको बताए ।
नेकपा एमालेको तर्फबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्न र नियुक्त भएका मन्त्रीहरुको जिम्मेवारी तोक्न दवाव दिइरहेको बेला नेता कोइरालाले भने दसैँ अगाडि सरकार विस्तार नहुने बताए । सरकारमा गठबन्धनलाई मिसाउने वा नमिसाउने भन्ने विषयमा भने नेता कोइरालाले प्रष्ट जवाफ दिएनन् । उनले भने ‘कोशी प्रदेशमा अहिले जे छ त्यसैलाई मिलाएर जाने हो ।’
नेता कोइरालाले अहिलेको सरकारले बिग्रँदै गएको अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लगाउँदै अर्थतन्त्र बिग्रनुमा प्रधानमन्त्री, अर्थमन्त्रीको तथा गभर्नर जिम्मेवार रहेको बताए । उनले गठबन्धनका कारण अर्थतन्त्रमा समस्या नआएको टिप्पणी गरे ।