बेलबारी । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले कांग्रेसको केन्द्रीय नेतृत्वको गलत कार्यशैलीका कारण कोशी प्रदेशमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था बनेको बताएका छन् । उनले नेतृत्वको अकर्मन्यताले गर्दा पनि पछिल्लो राजनीतिक घटना हुन पुगेको टिप्पणी गरे ।
मोरङको बेलबारी कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्री लिम्बूले केन्द्रीय नेतृत्वले पार्टीलाई सधैँ लिलामीमा राखेर कार्यकर्तालाई दास बनाउन खोजेपछि दुर्घटना भएको बताए । उनले पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने संस्कृति अवलम्बन नगरे कोशीको विद्रोह देशभर फैलिने चेतावनी दिए ।
मन्त्री लिम्बूले भने, “नेतृत्व फरक मत राख्नेसँग बहस गर्न चाहँदैन । छलफल नगरी एकलौटी निर्णय गर्दा पार्टीमा समस्या आएको हो ।” नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका मन्त्री लिम्बूले विधानमा पार्टीका केन्द्रीय सदस्यले वडाबाट चुनाव जितेर जाने ब्यवस्था नभएसम्म नेतृत्व नसच्चिने बताए ।
उनले आगामी मङ्सिर १३–१८ मा हुने महासमिति बैठकले विधान संसोधन गर्ने दाबी गर्दै पार्टीलाई सभापतीय प्रणालीमा लानुपर्ने बताए । सबै पदाधिकारी निर्वाचित हुने व्यवस्थाले सभापति कमजोर भएको भन्दै उनले कांग्रेसलाई पुरानै संरचनामा फर्काउनुपर्नेमा जोड दिए । गुटबन्दी र आरोप प्रत्यारोपले कांग्रेस दिशाहीन भएको उल्लेख गर्दै उनले काङ्ग्रेसमा जान्ने बुझ्नेको कदर हुन छाडेको टिप्पणी गरे ।
कांग्रेस बेलबारी –४ का वडा सभापति इन्द्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस भोजपुरका सभापति एवम् कोशी प्रदेशका सांसद विनोदकुमार वान्तवा र मोरङ –३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले शुभकामना व्यक्त गरेका थिए ।