विराटनगर । कोशी प्रदेशमा तत्काल सरकार विस्तार गर्नुपर्ने नेकपा एमालेको दबाब छल्न मुख्यमन्त्री केदार कार्की प्रदेशसभाबाट विश्वासको मत पाएलगत्तै काठमाडौं पुगेका छन् ।
बुधबार प्रदेशसभाबाट राप्रपाबाहेकका सबै दलको विश्वासको मत पाएका कार्की त्यसलगत्तै सरकार विस्तार गर्नुपर्ने नेकपा एमालेको दबाब छल्न काठमाडौं पुगेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नियुक्त मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । सत्तारुढ गठबन्धनले गरेको निर्णयविपरित नेकपा एमालेको समर्थन लिएर काँग्रेसका ८ सांसदको विद्रोहबाट मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई सत्तारुढ गठबन्धनले पनि विश्वासको मत दिएको छ ।
कार्की मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै गठबन्धनले उनलाई स्वीकार गर्दै गठबन्धकै सरकार अगाडि बढाउने निर्णय गरिसकेकोले उनले मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका विद्रोही ८ जना काँग्रेस र एमाले मात्र नभएर सिंगो नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको पनि विश्वासको मत पाए । कार्कीले केन्द्रमा डा.शेखरक कोइरालाले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार अगाडि बढ्न चाहेकोले सरकार विस्तार केहि समय धकेल्न चाहेका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि विद्रोही काँग्रेसका शमशेर राई र नेकपा एमालेका रामबहादुर मगरलाई मन्त्री नियुक्त गरेका कार्कीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताएका थिए । उनलाई समर्थन गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले त विश्वासको मत पाएको भोलिपल्ट सरकार विस्तार हुने र नेकपा एमालेले ५ वटा मन्त्रालय पाउने दावी गरेका थिए । ‘विद्रोह गरेका काँग्रेस र एमालेबाट मुख्यमन्त्री भएकोले आफूहरुको सहमति अनुसार अव सरकार विस्तार हुन्छ’ उनले भनेका थिए, ‘एमालेले आफ्नो संख्यात्मक उपस्थिति अनुसार ५ मन्त्रालयमा दावी गरेको छ ।’
पाँच मन्त्रालय दाबी गरेको एमालेले मुख्यमन्त्री कार्कीसँग विश्वासको मतअगाडि नै भागबण्डा टुंगो लगाउनुपर्ने र एमालेबाहेक अन्य दललाई सरकारमा नल्याउने प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर, एमालेले यस्तो अडान राखिरहँदा मुख्यमन्त्री कार्की भने प्रदेशमा रहेका गठबन्धन दलहरुको बैठकमा केहि समयभित्रै सरकारलाई गठबन्धनको सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउँदै थिए । ‘मुख्यमन्त्रीले सरकारलाई गठबन्धनकै सरकारको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएकोले विश्वासको मत दिएका हौं’ गठबन्धनका एक नेताले भने, ‘एमालेलाई सरकारबाट बाहिर पठाउन केहि दिन लिने मुख्यमन्त्रीले बताएकोले समय दिएका छौं ।’
मुख्यमन्त्रीले सरकार विस्तार नगरी काठमाडौं पुगेकोमा एमालेले भने असन्तुष्टि जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दसैँअघि नै कोशी प्रदेश सरकार विस्तार गर्ने सहमति भएको बताए । ‘शुक्रबार मन्त्रिमण्डल विस्तार गरेर सफत समेत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, उनले भने, ‘तर खै किन हो उहाँ काठमाडौँ जानुभएछ ।’
प्रदेशसभाबाट विश्वासको मतमा भारी समर्थन पाएपनि दोहोरो चेपुवामा परेपछि मुख्यमन्त्री कार्कीले तत्काल सरकार विस्तार नगर्ने र दशैपछि गठबन्धन दलबाट मन्त्रि नियुक्त गर्ने तयारी गरेको उनीनिकट स्रोतको भनाइ छ । नेकपा एमालेलाई सरकारबाट हटाउन मुख्यमन्त्री तयार भएको भएपनि राप्रपालाई ल्याउन सकिन्छ कि भन्ने प्रयासमा पनि रहेको स्रोतको भनाइ छ ।
नेकपा एमालेले सरकार काँग्रेस र एमालेको मात्र भएकोले अन्य दललाई सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले काँग्रेस र एमालेको सहकार्य हुनुपर्ने भन्दै सहमतिको सरकार स्वीकार नगर्ने बताइसकेका छन् ।
उता गठबन्धनमा आबद्ध दलहरुले भने सरकारबाट एमाले बाहिरिनुपर्ने प्रतिक्रिया दिएका छन् । ‘काँग्रेसभित्रको समस्या र संविधानको उपधारामा टेकेर गठबन्धनभित्र छिरेको एमाले अब सरकारबाट बाहिरिनुपर्छ’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भनेका छन्, ‘सरकारलाई गठबन्धनले अपनत्व लिएर अगाडि बढिसकेकोले अब नैतिकताको आधारमा एमाले सरकारबाट बाहिरिनु राम्रो हुन्छ ।’
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले त बुधबार प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्तावमाथिको छलफलमै यो सरकार गठबन्धनको भएकोले केहि दिनभित्रै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका थिए । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाले पनि गठबन्धनको निर्णयको आधारमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सुनाएर मुख्यमन्त्री अब गठबन्धनकै भएको प्रतिक्रिया दिएका थिए ।
मुख्यमन्त्री केदार कार्कीले भने औपचारिक रुपमा सहमतिको सरकार बनाउन पहल गर्ने बताउने गरेका छन् । तर, अन्य दलहरुको धारणा हेर्दा त्यो संभावना नरहेको उनले बुझेका छन् । त्यो अवस्थामा आफ्नो राजनीतिक भविष्यलाई पनि सुरक्षित गर्न गठबन्धनको निर्णयका आधारमा अगाडि बढ्न उनी तयार भइसकेका छन् । त्यहि भएर दशैंअघि नै मन्त्रिपरिषदको विस्तार गर्ने एमालेसँगको सहमति छल्न उनी ‘नेतृत्वसँगको भेटघाट’ बहाना बनाएर काठमाडौं पुगेका हुन् ।
अब मुख्यमन्त्री कार्की फर्किएपनि दसैअगाडि मन्त्रिपरिषद् विस्तार हुने संभावना कम रहेको बताइन्छ । ‘दशैपछि मुख्यमन्त्रीले माओवादीसहित गठबन्धन दलका नेता सहभागी गराएर सरकार विस्तार गर्नुहुन्छ’ गठबन्धन दलका एक नेताले भने, ‘त्यसपछि कोशीमा बरालिएको राजनीति र गठबन्धन पनि सहि बाटोमा जान्छ र गठबन्धन फुटाएर खेल्ने एमालेको प्रयास असफल हुनेछ ।’ उनका अनुसार एउटा मन्त्रालय लिएर एमाले सरकारमा सहभागी हुन चाहेको अवस्थामा भने सरकारमै राख्नेबारे पनि गठबन्धन दलमा छलफल भइरहेको छ ।
कार्कीलाई नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा एकीकृत समाजवादी का ४ र जसपाका १ सांसदले विश्वासको मत दिएका थिए भने राप्रपाका ५ सांसदले विपक्षमा मतदान गरेका थिए ।