सम्पादकीय
उद्योगको दुषित पानी खेतबारीमा पस्ने, किसानले लगाएका बालीनाली सखाप बन्ने अवस्था उद्योगहरुको दादागिरी र गैरजिम्मेवारीको पराकाष्ठा हो । यस्तै समस्या मोरङ बुढिगंगा–३ गोकुवा चोकका किसानले भोगिरहेका छन् । त्यहाँ रहेको महालक्ष्मी केवल उद्योगबाट निस्कने प्रदुषित पानीको असरले स्थानीय किसानको उब्जाउ जमिन बाँझो बनेको धेरै भइसकेको छ । उद्योगको पानीले खेत बाँझिएपछि स्थानीय किसानले खेती लगाउनै छाडेको पनि उत्तिकै समय बितिसकेको छ । जसरी उद्योगीलाई निर्वाध रुपमा आफ्नो उद्योग चलाउने अधिकार छ, किसानलाई पनि आफ्नो खेतबारीमा उत्पादन गर्ने अधिकार छ । उद्योगको दुषित पानी किसानका खेतबारीमा पठाउने महालक्ष्मी केवल उद्योगको जबरजस्ती तत्काल रोकिनुपर्छ ।
महालक्ष्मी उद्योगका सञ्चालक पारस लुनिया हुन् । कुनैबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य लुनिया अहिले विराटनगरका चर्चित उद्योगी हुन् । उनको खेलकुद पृष्ठभूमिको अनिवार्य शर्त नै खेलको नियम पालना गर्नु हुन्थ्यो । मैदानमा सिकेको त्यही अनुशासन उनले आफ्नो व्यावसायिक जीवनमा पनि लागु गर्नुपर्छ । उनलाई जसरी उद्योग सहज रुपमा चलाउने अधिकार संविधानले सुरक्षित गरिदिएको छ, स्थानीय किसानको अधिकार पनि उत्तिकै प्रतिबद्धतासहित संविधानले नै ग्यारेन्टी गरेको छ । उद्योगमा उत्पादित फोहोर र दुषित पानीको व्यवस्थापन गर्ने दायित्व उद्योगीको हो । किसानको खेतमा दुषित पानी पठाउने काम अन्यायपूर्ण हो । यो शैलीमा उद्योगले परिवर्तन ल्याउनुपर्छ ।
उद्योगहरुको रवैयाका कारण दुःख पाउने सर्वसाधारण धेरै छन् । धेरैतिर यस्तै दुषित पानी किसानका खेतबारीमा पसेको गुनासो उच्च छ । यसबाहेक उद्योगबाट निस्कने धुँवा, धुलो र फोहोरको मारमा पर्नेहरुको संख्या पनि उत्तिकै छ । सुनसरी मोरङ औद्योगिक करिडोर होु् अथवा कटहरी रंगेली औद्योगिक करिडोर नै किन नहोस, यस्ता समस्याबाट पिरोलिने सर्वसाधारण धेरै छन् । यसमा धेरै उद्योगीहरुले जबरजस्ती गरेको देखिन्छ । उद्योगहरु बिना कुनै अवरोध चल्न पाउनुपर्छ, यसमा कुनै सन्देह छैन । तर, यसो भनिरहँदा उद्योगको आडैमा बसेका किसान र सर्वसाधारणको खेतबारी बाँझै बनाइदिने, उद्योगको धुँवा, धुलो र फोहोरले उनीहरुको दैनिकी बिथोल्ने छुट उद्योगलाई हुँदैन, हुनु पनि हुँदैन ।
उद्योगहरुले अनेकौं रसायन प्रयोग गर्नुपर्छ, गरेका हुन्छन् । धेरै रसायनहरु वनस्पतिका लागि घातक हुन्छन् भने कतिपय मानव स्वास्थ्यका लागि हानीकारक हुनसक्छन् । यही समस्या आउने खतरा भएकै कारण उद्योगहरुले फोहोर व्यवस्थापनमा उच्च सतर्कता देखाउनुपर्ने आवश्यकता हुन्छ । उद्योग स्थापना हुनु अघि नै उद्योगीहरुले फोहोर व्यवस्थापनको विधि, स्थानीय समुदायलाई असर नपार्ने प्रतिबद्धता सरकारी निकायमा गरेका हुन्छन् । उद्योग र तिनका सञ्चालकहरुले आफ्नो यही प्रतिबद्धता पालना गरे मात्रै पनि पुग्छ । तर, धेरै उद्योगीहरुले स्थानीयबासीलाई अनेक रुपमा सताउने र सस्तो मूल्यमा उनीहरुको जग्गा किन्ने चतुर्याइँ देखाउने गरेको पनि पाइएको छ । बुढिगंगा गाउँपालिकाले गोकुवा चोकको समस्याबारे गम्भीर रुपमा अनुगमन गर्नुपर्छ । अन्य सरकारी निकायले पनि यो समस्यालाई देखेको नदेख्यै गर्नु हुँदैन । स्थानीय सरकारले आफ्ना नागरिकमाथि परेको मर्कामा आँखा चिम्लने हो भने गाउँमा आएको सिंहदरबार सर्वसाधारणका लागि अर्थहीन हुनेछ । त्यसैले बुढिगंगा गाउँपालिकाले महालक्ष्मी उद्योगबाट पीडितहरुको समस्या समाधान गर्न तदारुकता देखाउनै पर्छ ।