आज विश्वासको मत लिँदै मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । बुधबार ११ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ । तर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । यति लामो समयको सुविधा हुँदाहुँदै पाँचै दिनमा विश्वासको मत लिन मुख्यमन्त्री हतारिएका छन् ।

‘उहाँलाई एकातिर आफ्नै दल काँग्रेस पनि सामेल गठबन्धनको दबाब एकातिर छ’, मुख्यमन्त्री कार्की निकट कोशीका एक सांसदले भने ‘अर्कातिर आफूलाई मुख्यमन्त्री बनाउन सघाउने एमालेको दबाब पनि उस्तै छ । रात रहे अग्राख पलाउँछ भन्ने त्रासका कारण सकेसम्म छिटो विश्वासको मत लिन लागिएको हो ।’

सत्ता गठबन्धन दलहरुले माओवादी नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै शेखर कोइराला समूहले कोशीमा विद्रोह गरेको थियो । त्यसको नेतृत्व मुख्यमन्त्री कार्कीले गरेका थिए । एमालेका ३९ र काँग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त हुँदा नहुँदै बालुवाटारमा भएको तीन शीर्ष नेताबीचको सहमतिको चिर्कटो बाहिरिएको थियो ।

आफूलाई मुख्यमन्त्री बनाउन आड दिने नेता शेखर कोइरालाले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवासँग गरेको ‘चिर्कटो सहमति’ कार्यान्वयन गर्नैपर्ने दबाब कोइरालालाई छ । कोइरालाको दबाबमा मुख्यमन्त्री कार्की छन् ।

मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरुसँग छलफल तीव्र पारेका छन् । गठबन्धन दलहरुसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आफूले गठबन्धनभन्दा दायाँबायाँ नगर्ने प्रष्ट वचन दिएको छलफलमा सहभागी नेताहरु बताउँछन् ।

एमालेले गठबन्धनका अरु दललाई सरकारमा सामेल गराए पनि माओवादीलाई नगराउन मुख्यमन्त्री कार्कीलाई दबाब दिँदै आएको छ । यद्यपि मुख्यमन्त्री कार्की भने विश्वासको मत लिएलगत्तै माओवादीसहितका दलहरुलाई सरकारमा सामेल गराउने तयारीमा छन् ।

यसरी एमालेसहितका प्रमुख दलहरुले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने देखिन्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मंगलबार साँझसम्मको अवस्थामा ३९ जना सांसद रहेको एमाले, २९ मत भएको काँग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछन् । यही अवस्था बुधबारसम्म कायम रहे र सबै सांसद उपस्थित रहे मुख्यमन्त्रीले ९३ मध्ये कम्तीमा ८५ मत पाउनेछन् । गठबन्धनमै रहेको जसपाले के गर्ने टुंगो गरिसकेको छैन । ६ सिट भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

बुधबार, ०१ कार्तिक, २०८०, बिहानको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर