विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गर्नुपर्ने बताए ।
कार्कीले भने, “अब स्थायी सरकार बनेको छ । तपाइँहरु ढुक्क भएर काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताको भएर काम गर्नुपर्छ ।” मुख्यमन्त्री कार्कीले सुशासन दिन सरकारले सम्झौता नगर्ने बताउँदै जनतालाई शासन होइन सेवा दिन राजनीतिकर्मी र कर्मचारी उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
मन्त्रीसँगै जनताले कर्मचारीलाई पनि गाली गर्छन् भन्दै मन्त्रीले कर्मचारी र कर्मचारीले नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । “मन्त्रीलाई पनि जिम्मेवार बनाउनु पर्छ । अब सुन्ने मात्र होइन निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ,” उनले भने, “आफूले गरेको काम सन्तुष्ट हुने गरी गर्नुहोस् । जनतलााई खुसी बनाउन सहकार्य गरौं ।” कार्कीले बजेट बनाउँदा खुद्रा भन्दा पनि प्रदेशस्तरको काम गर्ने गरी तयार गर्नु पर्नेमा जोड दिए ।