बालुवाटारको सहमति कोशीमा फेरि उल्लङ्घन्, सहमतिको सरकार बनाउने कार्कीको दावी

विराटनगर । गठबन्धनको निर्णय उल्लंघन गर्दै नेकपा एमालेको साथ लिएर कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेस नेता शेखर कोइरालाबीच भएको सहमति फेरि उल्लंघन भएको छ ।

‘गठबन्धन बलियो बनाउने’ गरि तीन नेताबीच भएको सहमतिविपरित कोशीमा आज मुख्यमन्त्री केदार कार्कीले आफूलाई सहयोग गर्ने काँग्रेसको विद्रोही समूह र नेकपा एमाले समेटेर मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रचण्ड, देउवा र कोइरालाले कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन नदिने सहमति गरेपछि कोशीमा एमालेबाहेक गठबन्धनकै सरकार बन्ने कतिपयको अनुमान थियो । बालुवाटारमा भएको सहमतिले एमाले पनि झस्किएको थियो ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा भएको सहमतिपछि चितवन पुगेर कोशीमा उत्पन्न समस्याको समाधान भएको बताउँदै अब गठबन्धनकै सरकार बन्ने दावी गरेका थिए । उनले तीन नेताबीच भएको सहमतिले अब गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धकै मुख्यमन्त्री भएको स्पष्ट पारेका थिए ।

बालुवारको सहमतिपछि मुख्यमन्त्री कार्की शपथ नलिई शनिबार नै काठमाडौं पुगेका थिए । उनले काँग्रेस नेता कोइराला, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर फर्किका थिए । देउवासँग गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता कार्कीले जनाएको बताइएको छ । तर, विराटनगर फर्किएपछि कार्कीले मन्त्रिपरिषद गठन गर्दा विद्रोही कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये ८ जना र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए। सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि शेखर पक्षका कार्कीले ८ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

सपथपछि मुख्यमन्त्री केदार प्रदेशमा सहमतिको सरकार बन्ने दावी गरेका छन् । आफू नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गर्दै उनले सबै दल सहभागी भएको सहमतिको सरकार बनाउनेगरि आफूले प्रयास गर्ने बताएका छन् । प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने उनको भनाइ छ ।

नेकपा एमाले संसदीय दल नेता हिक्मतकुमार कार्कीले भने सरकारमा एमाले र काँग्रेसबाहेक अन्य दल सहभागी हुने कुरा स्वीकार नगर्ने बताएका छन् । एमालेको यस्तो चेतावनीपछि कार्कीले आज एमाले र काँग्रेसका विद्रोहीलाई सहभागी गराएको बताइन्छ । यद्यपी एमाले आजै आफ्ना तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान राखेकोमा कार्कीले त्यसलाई भने अस्वीकार गरेका छन् ।

काँग्रेस नेता कोइराला पनि कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएपछि बालुवाटर सहमति पालना गरेर जाने पक्षमा रहेको निकट स्रोतले जनाएको छ । उनले आज सकेसम्म आफूले मात्र सपथ लिन कार्कीलाई भनेको बताइन्छ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन समस्या पर्नसक्ने देखेर एमालेलाई पनि सरकारमा सहभागी गराएको काँग्रेसका एक नेताले बताएका छन् ।

आइतबार, २८ असोज, २०८०, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर