काँग्रेसकै कारण कोशीमा क्षति व्यहोर्दै माओवादी

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा एकपटक मौखिक र एकपटक लिखित सहमति गरेको काँग्रेस त्यसमा इमान्दार नबन्दा माओवादी नेता इन्द्रबहादुर आङ्बो दुवै पटक मुख्यमन्त्री बन्न विफल भएका छन् । पहिलोपटक मुख्यमन्त्री बन्ने अवसर आउँनैलाग्दा काँग्रेसको संस्थापनले पूर्वसहमति पालना नगर्दा मुख्यमन्त्री बन्न वञ्चित बनेका आङ्बो यसपटक काँग्रेसको विद्रोही पक्षका कारण उस्तै नियति भोग्न बाध्य भए ।

अघिल्लो पटक मौखिक सहमति मात्रै हुँदा काँग्रेसबाटै धोका पाएका उनले यसपटक लिखित सहमति हुँदा पनि काँग्रेसकै धोकाले अवसर गुमाउनु परेको छ । गएको जेठ २३ मा कोशीका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट माओवादीले समर्थन फिर्ता लिने बेलामा पनि गठबन्धन दलहरुले आङ्बोलाई मुख्यमन्त्री बनाउने मौखिक सहमति गरेका थिए ।

‘एमाले नेतृत्वको सरकारबाट पहिले फिर्ता हुनुस् त्यसपछि तपाइँकै नेतृत्वमा सरकार बनाउँला’ भन्ने काँग्रेस नेताहरुको भनाइ र केन्द्रीय गठबन्धनमा आएको फेरबदलका कारण बजेट आउनुभन्दा एक साताअघि माओवादी फिर्ता भएको थियो । ‘गठबन्धनमा बहुमत पुर्याउन सकस हुन्छ भन्ने बुझेरै हामीले त्यसबेला एमाले नेतृत्वको सरकारबाट निस्कन चाहेका थिएनौं’, माओवादी नेता आङ्बोले भनेका थिए, ‘तर, केन्द्रीय गठबन्धनको प्रेसर तथा आलोपालो सरकार चलाउने हो, पहिले तपाइँहरु नै नेतृत्व गर्नुस् भनेपछि हामी ब्याक भएका थियौं ।’
कार्की नेतृत्वमा पहिलोपटक बनेको सरकार असार १५ मा विश्वासको मत पाउन नसकेर ढल्यो । त्यही दिनदेखि प्रदेशमा नयाँ सरकार बनाउने कसरत काठमाडौंमा सुरु भयो । त्यसबेला सभामुख माओवादीकै बाबुराम गौतम थिए । उनले सदनमा मत दिन नपाउने भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मनाउनैपर्ने बाध्यता कोशीको गठबन्धनलाई थियो । राप्रपा पनि गठबन्धनलाई सघाउन लगभग सहमत जस्तै थियो । तर, उसको एउटा शर्त थियो, उद्धव थापालाई नसघाउने । यसका पछि चार जना झापाली नेताबीचको तिक्तता मुख्य कारण थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीचको तिक्ततामा प्रदेशका दुई नेताको प्रतिष्पर्धा पनि थपिएको थियो । सिटौलाका विश्वास पात्र उद्धव थापा र लिङ्देनका विश्वासपात्र भक्ति सिटौलाबीचको विगतको तितो पनि यसको मुख्य कारण थियो । कुनैबेला काँग्रेसकै नेता रहेका भक्ति सिटौलाले आफ्नै भतिजा कृष्ण सिटौला र थापाहरुको पेलाइका कारण काँग्रेस त्यागेका थिए ।

त्यसको बदला लिन भक्ति सिटौलाले प्रदेशमा खोँचे थापिरहेका बेला सभामुखलाई मत दिन लगाउने भन्दै काँग्रेसको दबाबमा गठबन्धनले अन्ततः थापालाई नै अघि सार्यो । प्रधानमन्त्री प्रचण्डले पनि आङ्बोको पक्षमा अडान लिन सकेनन् । गठबन्धनले मुख्यमन्त्रीका रुपमा थापालाई अघि सार्नेबित्तिकै राप्रपाले ‘अब कुनै सहयोग गर्न नसकिने’ कडा प्रतिक्रिया व्यक्त गर्यो । काँग्रेस नेताहरुले यसलाई राप्रपाको ‘बार्गेनिङ’ मात्रै ठानिरहे ।

त्यसबेला नेपाली काँग्रेसको कृष्णप्रसाद सिटौला पक्षले पहिले आफूले नै नेतृत्व पाउनुपर्ने अड्डी कस्यो । संसदीय दलका नेता उद्धव थापालाई पहिले र त्यसपछि अर्को पटकमा मात्रै माओवादी नेता आङ्बोलाई बनाउने काँग्रेसको अडान अनुसार थापा असार २१ मा मुख्यमन्त्री बने ।
‘त्यसबेला मलाई मुख्यमन्त्री बनाउने कुरामा गठबन्धनका अरु दल सहमत थिए, काँग्रेसले पनि मौखिक सहमति गरेको थियो’, आङ्बोले भने ‘तर, काँग्रेसले अडान नछाडेपछि हामीले काँग्रेसलाई साथ दिँदै अडान त्यागेका हौं ।’

त्यसबेला काँग्रेस नेताहरुले सभामुखले समर्थन पत्रमा हस्ताक्षर गर्नुपर्ने कुरा उठ्दा आङ्बोले सभामुखले बराबरी मत हुँदा मतदान गर्ने बताउँदै हस्ताक्षर गराउन नहुने भनेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरे । एमाले अदालत गएपछि सर्वोच्चले थापालाई पदमुक्त गरिदियो ।

लगत्तै साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बन्ने बेलामा माओवादीले सभामुख बाबुराम गौतमलाई राजीनामा गरायो । तर, विश्वासको मत लिने दिन भदौ ४ मा उपसभामुख सिर्जना दनुवार अचानक ‘विरामी’ परिन् । अरु आठ सांसद ‘घरयासी काम परेको’ भन्दै पनि बिदा बसे । त्यसपछि प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएर विश्वासको मत पुर्याएका थापालाई सर्वोच्चले फेरि अपदस्त गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउने परमादेश दियो । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भए ।

असोज २० मा विश्वासको मत पाउने अवस्था नहुने भएपछि कार्कीले राजीनामा दिए । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरे ।प्रदेशका नेताहरु केन्द्रीय गठबन्धनको निर्णय लिन काठमाडौं पुगे । यसपटक गठबन्धनका नेताहरुले राप्रपाकोसमेत साथ आङ्बोले पाउने स्थिति देखिएको बुझेपछि उनलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णयमा पुगे ।
जसै गठबन्धन यो निर्णयमा पुग्यो, काँग्रेसभित्र डा.शेखर कोइराला पक्ष चिढियो । काँग्रेसको भागमा परेको कोशी प्रदेश माओवादीलाई छाडिएको भन्दै कोइराला पक्ष रुष्ट बन्यो । केदार कार्कीसहितका ८ सांसदले एमालेसित मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने अभियानमा जुट्यो । शेखरले उनीहरुलाई अगाडि बढ्न निर्देशन दिए ।

पहिल्यैदेखि गठबन्धन फुटाउन लागेको एमाले मौका पर्खेर बसेको थियो । यसले असन्तुष्ट काँग्रेसलाई साथ दियो । यसरी केदार कार्की मुख्यमन्त्री बन्दा आङ्बोले भने फेरि पनि काँग्रेसबाटै धोका पाए ।यसपटक उनलाई ‘धोका’ दिने पात्र बने केदार कार्की । काँग्रेसभित्रको गुटगत लडाइँले कार्की यो बाध्यतामा पुगेका थिए । यसबारे आङ्बो जानकार नहुने कुरै भएन । त्यसैले उनले कार्की मुख्यमन्त्रीमा नियुक्त हुने बित्तिकै फोन गरेर बधाइ दिए । ‘इन्द्रजीले मलाई बधाइ भनिसक्नुभयो’, मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि सन्चारकर्मीसँग कार्की भन्दैथिए ‘उहाँको केही समस्या छैन ।’

केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेर पनि उक्त राजकीय अवसरबाट विमुख बनेका नेता आङ्बो आफू कति पनि विचलित नभएको बताइरहेका छन् । ‘राजनीतिमा म एकदमै लामो रेसको घोडा हुँ । मसँग उमेर छ, समय छ । यही उमेर र समयमा गठबन्धन र शीर्ष नेताहरुले मैले प्रदेशमा सबैको साथ पाउने ठहर गरेर विश्वास र भरोसा गर्नुभयो, मेरो लागि यो ठूलो कुरा हो’, आङ्बोले भने ‘पद भनेको आउँछ, जान्छ । तर, बहुमत पुग्दैन, मैले नै बहुमत जुटाउन सक्छ भन्ने विश्वासमा गठबन्धन दलहरु पुग्नुलाई मैले आफ्नो उपलब्धिका रुपमा ग्रहण गरेको छु ।’

काँग्रेसभित्रको असन्तोष र एमालेले असन्तुष्ट समूहलाई साथ दिने तयारी गरेकोबारे आफूले पूर्व संकेत पाएको र शीर्ष नेताहरुलाई यसबारे जानकारी गराएको आङ्बोले यसअघि नै बताएका थिए । ‘यो खेलबारे म धेरथोर जानकार थिएँ त्यसैले गठबन्धनले निर्णय गर्नासाथ मुख्यमन्त्री भइहालिन्छ भन्ने लागेको थिएन’, उनले थपे ‘तर, काँग्रेसभित्रको गुट, असन्तोष व्यवस्थापन होला भन्ने हाम्रो अपेक्षा थियो । गुट व्यवस्थापनको जिम्मा उसैको हो ।’

हिक्मतकुमार कार्की पहिलोपटक मुख्यमन्त्री बन्दा पनि एमालेसँग माओवादीको आलोपालो गर्ने सहमति भएको थियो । राष्ट्रपति चुनावले एमाले–माओवादी सहकार्य नटिक्दा त्यो कोर्स नै परिवर्तन भयो ।

दुई–दुई २–२ पटक काँग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछि गठबन्धन भित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधारसहित प्रदेशलाई स्थायित्व दिने मुख्यमन्त्रीको दाबी गरेको बताउँदै आङ्बोले भने ‘हामीले गठबन्धन र सत्ता सहकार्य काँग्रेससँग गरेको हो गुट, उपगुटसँग होइन ।’ पार्टीको आधिकारिक निर्णय किन लागू गर्न सकेन यसको समीक्षा काँग्रेसले गर्ला वा नगर्ला त्यो उसैको कुरा भएको बताउँदै आङ्बोले थपे ‘ हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधै इमानदार र प्रतिबद्ध रहने छु ।’

आइतबार, २८ असोज, २०८०, बिहानको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर