विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार गठनमा अब एमालेसँग मिलेर बन्छ कि गठबन्धनसँग भन्ने निर्णय गरिनसकेको बताएका छन् ।
मुख्यमन्त्रीको नियुक्तिपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘एमालेसँग मिलेर मन्त्रिमण्डल बनाउने कि गठबन्धनसँग भन्ने निर्णय भइसकेको छैन’ उनले भने, ‘त्यो पछिको कुरा हो । काम गर्दैजाँदा थाहा हुन्छ ।’
भोलि शपथसँग सानो आकारको मन्त्रिपरिषद् गठन हुने बताएका उनले मन्त्री कसलाई बनाउने भन्ने तय भइनसकेको उल्लेख गरे । आफूसँग रहेका ८ काँग्रेसका सांसदसँग सल्लाह गरेपछि थप योजना बनाउने उनले जानकारी दिए । मुख्यमन्त्रीका रुपमा सबै सांसद बराबर रहेकोले सबैको एकता र सहकार्यबाट अगाडि बढ्ने उनले बताए ।
मध्यावधि रोक्नको लागि एमालेसँग मिलेर सरकार गठन गरेको जिरिक गर्दै कार्कीले पार्टीले संविधानसम्मत गरेको कुरालाई सकारात्मक रुपमा लिन्छ भन्ने विश्वास रहेको बताए । पार्टीले चुनावमा टिकट दिएर, जिताएर प्रदेशसभामा पठाएको व्यक्ति मुख्यमन्त्री बन्दा बधाइ र स्याबासी नै दिनेछ भन्ने लागेको उनले बताए ।
आफूलाई अहिलेसम्म पार्टीले कारबाही नगरेको, स्पष्टीकरण पनि नसोधेको उल्लेख गर्दै उनले आफूले विद्रोह गरेको नभइ संविधानले दिएको अधिकार प्रयोग मात्रै गरेको दावी गरे। गठबन्धनको मात्रै संख्याले प्रदेश मध्यावधिमा जाने निश्चित देखेपछि त्यो रोक्नका लागि आफूले कदम चालेको उनले भनाइ छ ।