मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन पुगे सांसद

विराटनगर । नयाँ मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुको सनाखत दिन पुगेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने तयारी गरेका हुन्।

खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन् । नेकपा एमालेका ३८ र नेपाली कांग्रेसको डा शेखर कोइराला ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन् । एमालेका सांसद ज्ञानेन्द्र सुवेदी भने केहीबेरमा पुग्ने बताइएको छ ।

सनाखतको लागि सबै तयारी पूरा भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सनाखतको काम सकिएपछि आजै मुख्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ।
प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सांसदले कतापट्टिको आफ्नो सही आधिकारिक हो भनेर खुलाउनुपर्ने छ।

मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।

तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।

नयाँ मुख्यमन्त्री नियुक्तको विषयमा कांग्रेसमा दुई धार देखिएपछि कोशीको सत्ता राजनीति जटिल मोडमा पुगेको छ।

शनिबार, २७ असोज, २०८०, बिहानको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर