संविधान रक्षाको लागि भएको विद्रोह र सत्ताको लागि भएको विद्रोह फरक होः महामन्त्री शर्मा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको लागि पार्टीको नीति र निर्देशन उल्लंघन गर्ने छुट कसैलाई पनि नहुने बताएका छन् ।

कोशी प्रदेशमा पार्टी र गठबन्धनको निर्णयविपरित केदार कार्कीले मुख्यमन्त्री बन्न एमालेसँग गठबन्धन गरेको विषयमा शर्माले कोशी प्रदेशमा विकसित घटनाक्रमबारे छलफल र परामर्श भइरहेको बताए ।

कोशी प्रदेशमा भएको घटना केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर चालेको असंवैधानिक कदम रोक्न माधबकुमार नेपालहरुले गरेजस्तो विद्रोह नभएको भन्दै शर्माले संविधान रक्षाको लागि काम कदम र सत्ताको लागि भएको कामलाई फरक ढंगले हेर्नुपर्ने बताए । ‘त्यहाँको घटना संविधान रक्षाको लागि भएको हैन’ उनले भने, ‘संविधान रक्षाको लागि विषेश अवस्थामा भएको घटना र सामान्य अवस्थामा भएको घटना फरक हुन्छ ।’

संविधान मिचिएको बेला संविधानको रक्षा गर्न आन्दोलनमा रहेका दलले गरेको विद्रोहलाई सकारात्मक रुपमा लिने गरिएको भएपनि सत्ताकै लागि भएको विद्रोहलाई राम्रो मान्न नसकिने उनले बताए । कोशी प्रदेशमा पार्टीको निर्णयविपरित भएको अनपेक्षित घटनाबारे छलफलमा रहेको भन्दै उनले भोलिसम्म एउटा निश्कर्षमा पुगिने जानकारी दिएका छन् ।

संविधानका धाराहरु प्रयोग गर्दै सरकार निर्माण हुने भएपनि संसदीय लोकतन्त्रमा पार्टी र संसदीय दलले गरेको निर्णय महत्वपूर्ण हुने शर्माले बताएका छन् ।

बिहिबार, २५ असोज, २०८०, रातीको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर