अनेरास्ववियुको अधिवेशनमा एमाले नेताको खुकुरी आतंक

विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अनेरास्ववियुको नगर अधिवेशनमा एमाले ताप्लेजुङका उपसचिव मणिसङ्कर पोमुले खुकुरी देखाउँदै विद्यार्थीमाथि कुटपिट गरेका छन् ।

आफूले भनेको व्यक्तिलाई नगर उपसचिव नबनाएको भन्दै एमाले ताप्लेजुङका उपसचिव पोमुसहितको समूहले विद्यार्थीमाथि घरघरमा गएर कुटपिटसमेत गरेका छन् ।

एमालेका जिल्ला नेताहरूले नै विद्यार्थीमाथि कुटपिट गरेपछि अधिवेशन रोकिएको छ । अनेरास्ववियु ताप्लेजुङको अधिवेशन असोज २४ र २५ गते गर्ने तय भएको थियो ।

जिल्ला अधिवेशन गर्नुभन्दा पहिला नगर अधिवेशन चलिरहँदा पोमुले शनिवार कुटपिट गर्दै घरघर गएर विद्यार्थी र कार्यकर्तालाई धम्की दिएको अनेरास्ववियु ताप्लेजुङका इन्चार्ज रोशन लामाले बताए । पोमुको कुटपिटबाट सन्दीप श्रेष्ठ घाइते भएको उनको भनाइ छ । उनको झापामा उपचार भइरहेको छ ।

इन्चार्ज लामाले विद्यार्थीहरू आफ्नै पार्टीका नेताबाट कुटाइ खाने र विस्थापित हुने खतरा आएपछि अधिवेशन स्थगित गरेर आफू झापा आएको बताए । पोमुले नगर अधिवेशनका क्रममा अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य नारद गौतम, पार्टीको तर्फबाट विद्यार्थी हेर्ने इन्चार्ज लेखनाथ भट्टराईलाई समेत धम्क्याएको लामाले बताएका छन् । अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा सुरुमा विवाद उत्पन्न भएको थियो ।

आफू जनवर्गीय सङठनको इन्चार्ज भएको भन्दै पोमुले विद्यार्थीका सिनियर नेता हुँदाहुँदै जुनियरलाई अध्यक्ष मण्डल बनाएपछि विवाद भएको थियो । पोमु एमाले सचिव योगेश भट्टराईका निकट नेता हुन ।

लामो समयदेखि अनेरास्ववियु ताप्लेजुङको गतिविधि हुन नसकेको र कमिटीहरूसमेत बन्न नसकेको अवस्थामा कमिटीहरू निर्माण गर्दै अधिवेशनको अन्तिम तयारी भइसक्दा आफ्नै नेताको असुरक्षाका कारण अधिवेशन स्थगित गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।

बुधबार, २४ असोज, २०८०, दिउँसोको ०१:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर