कोशीबारे देउवाले भने : दलका नेता नै मुख्यमन्त्री

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको मुख्यमन्त्री दलको नेता नै हुने बताएका छन् ।

आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव लिएर भेट गर्न पुगेका काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीलाई सभापति देउवाले यस्तो जवाफ दिएका हुन् ।

पराजुलीका अनुसार देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुने भन्दै अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने बताएका थिए । ‘सभापतिज्यूसँग मैले कोशी प्रदेशको विषयमा कुरा गरें । पार्टीभित्र आइरहेको फलानो, चिलानो भन्ने जुन आइरहेको छ नि त्यो विषयमा पार्टीलाई मिलाएर जानुपर्छ भनेर मैले भने’ पराजुलीले भने, ‘सभापतिले मुख्यमन्त्री बन्दा संस्थागत रुपमा बन्छ । काँग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ त्यही हुन्छ । अरु हुँदैन भन्नुभयो ।’

विकल्प आयो भने केन्द्रीय सदस्य पनि रहेको र विराटनगर महानगरपालिकाको प्रमुख भएर चलाएको अनुभव पनि रहेकोले आफ्नो नाममा पनि छलफल गर्नुपरो भनेर आफूले भनेको पराजुलीले बताए । ‘दलको नेता नहुने परिस्थिति हुँदा सहयोग गर्नुपरो भन्ने प्रस्ताव गर्दा देउवाले पार्टीका नेताहरुसँग छलफल गर्छु भन्नुभएको छ’ उनले भने ।

सरकार निर्माणको लागि राप्रपासँग निर्णायक वार्ता गरेर अगाडि बढ्नुपर्ने सुझाव आफूले दिएको पराजुलीले सुनाए । गणतन्त्र नचाहने, प्रणाली नचाहने, संविधान नमान्नेहरुको लागि मध्यावधिमा गएको खण्डमा खेल्ने ठाउँ भएकोले दलभित्र र पार्टीभित्रको विवाद समाधानको पहल गर्नुपर्ने आफूले भनेको उनको भनाइ छ । देउवाले एमालेसँग सहकार्य गर्ने कुरालाई भने नकारेको उनले बताए । ‘राप्रपा मानेन भने मध्यावधिमा नजानका लागि एमालेसँग पनि सल्लाह गरेर जान सकिन्छ भनेर मैले विकल्पमा जानुपर्छ भनेको छु’ उनले भने, ‘तर, सभापतिले एमालेसँग मिलेर जाने कुरामा त्यति चासो दिनुभएन ।’

कुराकानीका क्रममा आफूले राप्रपा मिलाउने भनेर सभापतिले संकेत गरेको पराजुलीले बताए । ‘हिंजो प्रधानमन्त्रीसँग पनि कुरा भयो, काँग्रेस सभापतिज्यूसँग पनि कुरा भयो,’ उनले भने, ‘राप्रपा सरकारमा आउने सम्भावना बढी देखिन्छ ।’

एमाले जोसुकैलाई सहयोग गर्न तयार भएको भन्दै काँग्रेसको एउटा ग्रुप र माओवादीको एउटा ग्रुपलाई मुख्यमन्त्रीको कार्ड फालिरहेको पराजुलीको भनाए छ । गठबन्धनभित्रको छलफलमा काँग्रेसबाहेकको मुख्यमन्त्री बन्ने सम्भावना पनि रहेको उनले बताएका छन् । थापा नै मुख्यमन्त्री बन्ने र काँग्रेसमा विवाद भएको अवस्थामा माओवादी दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने पराजुलीको दावी छ ।

‘हाम्रो पार्टीमा धेरै झगडा भयो भने माओवादीबाट इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हुने सम्भावना छ,’ उनले भने । कोशी प्रदेश सरकार बनाउने अन्तिम विकल्पको रुपमा रहेको संविधानको धारा १६८ (५) को अन्तर्गत सरकार बनाउन नेताहरुको दौडधूप चलिरहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समयसीमा शुक्रबारसम्मका लागि मात्रै छ ।

बहुमत पुर्याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि समय दिइसकेका छन् ।

कोशी प्रदेश सभा ९३ सदस्यीय छ । बहुमतका लागि ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् ।

बुधबार, २४ असोज, २०८०, दिउँसोको ०१:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर