थारु कल्याणकारिणी सभाको निर्वाचन अनिश्चित

विराटनगर । थारु कल्याणकारिणी सभाका केही सदस्यहरुले अधिवेशन गराउन गठन गरिएको निर्वाचन मण्डल खारेज गर्न माग गरेका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले निर्वाचन अधिकृत पुनितलाल चौधरीसहितको निर्वाचन मण्डल खारेज गरी नयाँ निर्वाचन समिति गठन गर्न माग गरेका हुन् ।

निर्वाचन समितिका अधिकृत चौधरीले विधानविरीत निर्णय गरेको भन्दै उनको नेतृत्वमा हुने निर्वाचन निश्पक्ष नहुने आशंका गरी प्रतिस्पर्धाको तयारीमा रहेको केही सदस्यले विरोध जनाएका हुन् । चौधरीले पटक पटक निर्वाचनको मिति सारेको र प्राविधिक समस्या देखाउँदै चुनाव टार्दै आएकोले नयाँ निर्वाचन समिति गठन गर्न माग गरेको सचिव पदमा उम्मेदवारी दिएका प्रशान्त चौधरीले बताए । उनले निर्वाचन समितिसँग अर्को पक्षले मिलेमतो गरेको आरोप पनि लगाएका छन् ।

कल्याणकारिणी सभाको अधिवेशनमा चौधरीको एकल निर्णयबाट सभापति पदमा प्रदीप भगतलाई निर्विरोध निर्वाचित गर्ने चलखेल भइरहेको भन्दै उनले निश्पक्ष निर्वाचन गर्न नयाँ निर्वाचन समिति आवश्यक भएको बताएका हुन् । उनले संस्थालाई सही रुपमा सञ्चालन गर्न र सक्रिय बनाउन नयाँ नेतृत्व आवश्यक परेकोले आफूले गलत परम्पराको विरोध गरेको बताए ।

कल्याणकारिणी सभाको अधिवेशनको मिति गएको जेठ १९ र २० गतेका लागि तोकिएको भएपनि विभिन्न कारण देखाउँदै असोज २१ गतेका लागि सारिएको थियो । दोश्रो पटक पनि अधिवेशन स्थगित भएको छ ।कल्याणकारी सभामा २७३ जना मतदाता रहेका छन् भने आजीवन सदस्य १२ जना छन् ।

विरोधमा उत्रिएका प्रशान्त चौधरीले तत्काल निर्वाचनको मिति तोक्न माग गर्दै निर्वाचनको मिति नतोके १२ पालिकाको सभाले नयाँ नेतृत्व चयन गर्ने चेतावनी दिए ।

बुधबार, २४ असोज, २०८०, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर