विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना प्रतिवदाीको बयान सकिएको छ ।
उनीहरूको बयान मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालासमा मंगलबार सकिएको हो । प्रतिवादीहरुको बयान सकिएपछि बुधबार थुनछेक बहस हुने मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
वादी र प्रतिवादीको पैरवी सकिएपछि अदालतले प्रतिवादीहरुको हकमा पुर्पक्षको लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोडिदिने मध्ये एउटा आदेश आउनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर पक्राउ परेका ६ जना प्रतिवादीहरु विरुद्ध सोमबार अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमनी राजवंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बावु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ ।
नवजात शिशु बेपत्ता प्रकरणमा उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णले विक्री गरेको शिशुको तौल घटाउन विराटनगरस्थित ग्रिनक्रस हस्पिटलको नर्सलाई दवाव दिएको पाइएको छ । पाँच लाखमा विक्री गरेको नवजात शिशुको तौल घटाउन लगाएर विक्री गरेको कसैलाइ पनि नभन्न ड्युटीमा रहेका नर्सलाई दवाव दिएकोे खुलेको हो ।
डाक्टर कर्णले उपचार गर्दा हस्पिटलमा कार्यरत नर्स पुष्पा चौधरीले प्रहरीलाई दिएको बयान अनुसार अविवाहित किशोरीले करिब २ केजी तौलको नवजात शिशुलाई जन्म दिएकी थिइन् । तर, रेकर्डमा डाक्टर कर्णले कम तौल ९ सय ५० ग्रामको शिशु जन्मिएको र स्वास्थ्यमा समस्या देखिएको भन्दै धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान वा सुविधासम्पन्न हस्पिटलमा लैजान सल्लाह अनुसार बुझिलिएँ भनेर डा. कर्णले लेख्न लगाएको ती नर्सले प्रहरीसमक्ष बयान दिएकी छिन् । अभिलेखमा लेख्न लगाए पनि शिशुको बावु र आमाले जन्मिएको छोरी नलगेर डाक्टर कर्णको योजना अनुसार विक्री गरेको अभियोग पत्रमा उल्लेख छ ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।
कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाई कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।
त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस घटनामा ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई मुद्दा नचालउने निर्णय गरेको छ भने अन्य ६ जना विरुद्ध मोरङ अदालतमा सोमबार मुद्दा दायर भएको थियो।