हिक्मत कार्की र उद्धब थापाले अब मुख्यमन्त्री दावी गर्न मिल्दैन : संविधानविद्

विराटनगर । संविधानविद् डा.विपिन अधिकारीले कोशी प्रदेशमा अब मुख्यमन्त्रीको लागि हिक्मतकुमार कार्की र उद्धब थापाले दावी गर्न नमिल्ने बताएका छन् ।

कार्की र थापाले प्रदेशसभामा २–२ पटक विश्वासको मत प्राप्त गर्न नसकेकोले अब पनि उनीहरुले विश्वासको मत प्राप्त गर्नसक्ने आधार नदेखिने हुनाले उनीहरुले मुख्यमन्त्रीको दावी नै गर्न नमिल्ने डा.अधिकारीले बताए ।

कार्कीले यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार विश्वासको मत नपाएको र अहिले उपधारा ३ अनुसार मुख्यमन्त्री बन्दा पनि विश्वासको मत लिनसक्ने आधार नदेखेर राजीनामा दिएकोले उनले मुख्यमन्त्री दावी गर्न अब नपाउने उनको जिकिर छ । १६८ को ३ अनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत नपाएर उपधारा ५ अनुसार दावी गर्न नपाउने कुरा नैतिक मात्र नभएर संवैधानिक पनि भएको उनको भनाइ छ ।

‘हिक्मत कार्कीले यसअघि उपधारा २ अनुसार मुख्यमन्त्री रहँदा विश्वासको मत पाएनन्, अहिले ३ अनुसार मुख्यमन्त्री बन्दा पनि विश्वासको मत लिनसक्ने अवस्था नदेखिएकोले राजीनामा दिएका हुन्’ उनले भने, ‘प्रदेशसभाबाट २–२ पटक विश्वासको मत नपाएको व्यक्तिले अब फेरि पाउँछ भन्ने आधार नै हुन्न । त्यसैले कार्कीले दावी गर्न मिल्दैन ।’

कार्कीले अब मुख्यमन्त्री दावी गर्न नपाउने विषय सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्र्थापनाको फैसला गर्दै स्पष्ट पारिसकेको डा.अधिकारीले बताए । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थार्पना गर्ने फैसला २०७८ असार २८ गते गर्दा उपधारा ३ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेको वा विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा नगएको प्रधानमन्त्रीले उपधारा ५ अनुसार सरकारको नेतृत्व दावी गर्न नपाउने स्पष्ट गरेको थियो । सो नजिर अनुसार कार्कीले अब मुख्यमन्त्रीको दावी गर्न नपाउने भएका हुन् ।

संविधानविद् अधिकारीका अनुसार उद्धब थापाको हकमा अदालतले नबोलेको भएपनि उनको हकमा पनि सोहि व्यवस्था लागु हुन्छ । ‘थापाले पनि प्रदेशसभाबाट बहुमत सिद्ध गर्न नसकेकोले अदालतबाट पदमुक्त भएका हुन्, अब उनले उपधारा ५ अनुसार बहुमत सिद्ध गर्ने कुनै आधार छैन’ उनले भने, ‘यो विषय नैतिक विषय मात्र नभएर संबैधानिक, कानूनी र संसदीय पद्दति अनुसारको विषय हो ।’ बहुमत सिद्ध गर्न नसकेको नै २–२ पटक थापा मुख्यमन्त्रीबाट बर्खास्त भइरहेकोले अब फेरि उपधारा ५ अनुसार उनले बहुमत सिद्ध गर्नसक्ने आधार नदेखिने अधिकारीले बताए ।

संवैधानिक, कानूनी र नैतिक रुपमा पनि अब थापा र कार्कीले सरकारको दावी गर्न नमिल्ने जिकिर संविधानविद्ले गरिरहँदा थापाले पुनः मुख्यमन्त्रीको दावी गरेका छन् भने कार्की मौन बसेका छन् । यद्यपी उनले आज विश्वासको मत लिने प्रयास अगाडि नबढाई राजीनामा दिनुलाई भने ५ को दावी गर्ने आधारको रुपमा हेरिएको एमालेका सांसदहरु बताउँछन् ।

संविधानविद् डा.अधिकारीले उपधारा ३ को सरकारले विश्वासको मत नपाएपछि सिधै उपधारा ५ मा भने जान नहुने धारणा राखेका छन् । प्रदेश प्रमुखले कुनै पनि उपधारा उल्लेख नगरी सरकार गठनको आह्वान गर्नुपर्ने र दुई वा दुईभन्दा धेरै दलहरु मिलेर बहुमत सिद्ध गरेमा उपधारा २ अनुसारकै सरकार गठन गर्नुपर्ने उनको तर्क छ ।

‘उपधारा ५ भनेको अरु विकल्प सकिएर विघटन नजिक पुग्ने विषय भएकोले निर्वाचन भएको एक वर्ष नपुगी विघटनको डिलमा पुग्नु नागरिकमाथि पनि अन्याय हुनेछ’ अधिकारीले भने, ‘२ अनुसारको सरकार बन्ने संभावना छ भने त्यो पनि खुल्ला गर्नुपर्छ र २ अनुसार सरकार नबनेको अवस्थामा मात्र ५ मा जानुपर्छ ।’ २ अनुसार सरकार बन्ने अवस्थामा पनि कार्की र थापाको दावी भने अस्वीकृत हुने उनको भनाइ छ ।

शनिबार, २० असोज, २०८०, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर