एमालेको कस्तो चुनाव : अध्यक्षले प्रश्न उठाउने, जनतासँग लोकप्रिय बिदुर र सुमनले हार्ने

  बिक्रम लुइँटेल

नेकपा एमालेको प्रदेश स्तरीय कमिटीका अधिवेशनहरु धमाधम भइरहेका छन् । हालै एमालेको प्रथम कोशी अधिवेशन सम्पन्न भएको छ । निर्वाचनका माध्यमबाट सम्पन्न भएको निर्वाचनका कतिपय विषय सुधार गरेर जानुपर्ने अवस्था देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयंले निर्वाचनका विषयमा प्रश्न उठाएपछि यो प्रक्रियाका विषयमा समीक्षा हुनु जरुरी छ ।

खासगरेर सानातिना कमजोरीले गर्दा कोशीको चुनाव विवादमा पर्यो । यसमानेमा पनि विवादमा पर्यो कि केन्द्रीय अध्यक्षले नै प्रश्न उठाए । यद्यपि जित्ने अध्यक्ष घनश्याम खतिवडा र पराजित भएका विनोद ढकालले निर्वाचनको परिणामलाई स्वीकार गरिसकेका छन् । तर, पनि यो चुनाव किन विवादमा भयो भन्ने विषयमा एउटा असल दर्शकको रुपमा यसरी विश्लेषण गर्न सकिन्छ ।

पहिलो:  मतपत्रको सवाल–निर्वाचनमा प्रयोग गरिएको मतपत्रको चिन्ह लगाउने ठाउँ दुई अध्यक्षको सानो र ठूलो भएको साथै मतपत्र धेरै पन्नाको हुनुपनि यो निर्वाचन विवादमा पर्यो । निश्चित व्यक्तिलाई फाइदा पुग्नेगरी मतपत्रहरु बनाइएको र केहीमा कति जनालाई मत हाल्नुपर्ने कन्फ्युजन हुने गरी लेखिएको र भाषाहरुपनि अशुद्ध भएको सहभागीहरुको आरोप थियो ।

दोस्रो: मतपत्र लिइसकेपछि मतदान गर्न लाइन बस्दा नै लामो समयसम्म पालो कुनुपर्दा कतिपय मतदाता बसेकै ठाउँमा गएर उम्मेदवारले आफ्नो मतपत्रमा चिन्ह लगाइदिएको आरोप सहभागीको छ । मतपत्र लिने बित्तिकै उनीहरुले मतदान गर्न पाउनुपथ्र्यो । त्यस्तो अवस्था सिर्जना भएन । यहाँनेर बाहिरै मतदान गरेको भनेर मतपत्रसमेत जफत गरिएको थियो ।

तेस्रो:  राति निर्वाचन गरिएकाले कतिपय मतदान गर्न आएनन् र कतिपय मत रद्ध भयो ।

चौथो : उम्मेदवारहरुको तोकिएको क्राइटएरिया जाँच गर्ने दर्बिलो व्यवस्थापन नहुँदा चुनावमा क्राइटएरिया नपुगेकाहरु पनि उम्मेदवार भए र कतिपयले चुनाव पनि जिते । यसले गर्दा पनि निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्यो ।
पाँचौ : गणना पनि व्यवस्थित र राम्रो हुन सकेन । हतारहतार गरिएको गणनाप्रति पनि कतिपय उम्मेदवारले प्रश्न उठाए । साथै निर्वाचन कमिटीमा कानुनका मात्रै मानिस जान्दछन् भन्ने हिसाबले अरु क्षेत्रका मानिसहरुको प्रयोग गरिएन । यसले पनि फराकिलो ढंगले सोच्ने गरी चुनावका प्राविधिक काम हुन सकेन ।

छैटौं सवाल :  केन्द्र तहबाटै लिस्ट वितरण नगर्ने निर्देशन थियो । तर, त्यहाँ लिस्ट वितरण गरिएको सहभागीको आरोप थियो । यसले पनि मतदाताले स्वविवेकले अधिकार प्रयोग गर्न नपाएको गुनासो आयो ।

सातौं :  केन्द्रको निर्देशनमा हरेक निर्वाचन क्षेत्रबाट प्रदेश कमिटी सदस्य चुनिने व्यवस्था गरिएको थियो । तर, यहाँ पूरै जिल्लाबाट सदस्य चुनिने व्यवस्था गरियो । यो पनि निर्वाचनका लागि राम्रो सन्देश गएन । यसले गर्दा जित्ने व्यक्ति पनि पराजित भए । जिल्लाबाट प्रतिनिधित्व गर्नेगरी चुनिने सदस्यहरु सबै ठाउँका मतदाताले मतदान गर्ने परिपाटीले कतिपय जिल्लामा चाहिने र स्थापित नेतृत्व पराजित भए ।

हतारहतारमा गरिएको निर्वाचन र मतदातासँग आफ्नो कुरा राख्न नपाई चुनावमा जानुपर्ने अन्योलपूर्ण अवस्थाले राम्रा उम्मेदवारहरु पराजित हुनुपर्यो । संखुवासभाका बिदुर सुब्बा र मोरङका खड्ग बस्नेत, सुमन मिरिङचिङजस्ता जिल्लामा स्थापित सिनियर र युवा दुवै खालका उम्मेदवार पराजित भए । उनीहरु निर्वाचन क्षेत्र र पालिकामा जनतामा भिजेका र उनीहरुबाट निर्वाचित जनप्रतिनिधि थिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु जिल्लाले नै छान्ने व्यवस्था गरेको भए कतिपय ठाउँमा राम्रा मान्छेहरु पराजित हुनुपर्ने थिएन । मतदाताहरुले यस्तो खालको व्यवस्थाप्रति प्रश्न उठाएका छन् ।

समग्रमा भन्नुपर्दा निर्वाचनलाई प्राविधिकरुपले व्यवस्थित गर्न नसक्दा कोशीको निर्वाचन विवादमा पर्यो । यद्यपि प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले नेतृत्वलाई गलत रिर्पोटिङ गरेर विवादमा पार्ने काम गरिएको बताएका छन् ।नेकपा एमालेले पछिल्लो समयमा लोकतान्त्रिक अभ्यासबाट प्रदेश अधिवेशन गरिरहेका छ । यसको प्रक्रियाका विषयमा सातै प्रदेशमा समीक्षा गरेर अगाडि बढ्न जरुरी छ । नत्र कार्यकर्ताले चाहेका नेता निर्वाचित नहुने र सधैँभरी चुनाव विवादमा पर्नेछ ।

शुक्रबार, १९ असोज, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर