सञ्जाल र सामाजिक सद्भाव !

  पुण्य पी अधिकारी

हालका दिनमा सूचनाको स्रोतका रूपमा सबैभन्दा बढी प्रयोग सामाजिक सञ्जालको गरिन्छ । हरेक व्यक्तिले तत्काल अपडेट गर्ने र अपडेट गरिएको लिखत वा श्रृव्यदृश्य सामग्री शेयरिङका माध्यमबाट ठूलो जमातमा क्षण भरमै पुग्छ । सामाजिक सञ्जालमा सकारात्मक सन्देशहरू निमेष भरमै फैलिएका घटनाहरू एकदमै कम छन् । तर, नकारात्मक वा अशान्ति मच्चाउने विषय वा प्रसङ्गहरु अत्यधिक छिटो फैलिएका छन् ।
सामाजिक सञ्जालमा सद्भाव विथोल्ने गरी राखिएका सामग्री कै कारण मुलुकमा धर्मको विषयलाई लिएर मुठभेडको अवस्था सिर्जना भएका छन् । हाम्रो देशको धार्मिक सहिष्णुता विश्वका कतिपय राष्ट्रले खुलेर प्रंशसा गरेका छन् । राष्ट्रिय गानले पनि सयौँ थुगाँ फूलका हामी एउटै माला नेपाली भनेर एकताको भाव व्यक्त गरेको छ । संविधानले धर्म निरपेक्ष राष्ट्र भनि सबै नेपालीलाई धार्मिक स्वतन्त्रता दिएको छ । तर, त्यही धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव विथोल्न पछिल्ला दिनमा नेपथ्यबाट सामाजिक सञ्जालको उच्च प्रयोग गरिन थालिएको प्रतित हुन्छ ।

सामाजिक सञ्जालमा सद्भाव भड्काउने किमिसका सामग्रीको प्रयोग र धर्मको विषयमालाई आमनेसामने गराएर नेपालीनेपालीबिच मुठभेड गराउन खोजिएको विभिन्न दृश्यहरुले देखाएको छ । सामाजिक सञ्जालमा सद्भाव विथोल्ने गरी गरिएका प्रचारका कारण प्रशासनले दुई महिनाको अवधिमा चार पटक भन्दा बढी निषेधाज्ञा जारी गर्नु परेको छ । यो आम नेपालीका लागि दुर्भाग्यको विषय हो ।

सामाजिक सञ्जालमा एक अर्काको धर्मको विरोधमा व्यक्त गरिएका धारणाले खतरा निम्त्याएपछि सरकारले ०८० भदौ ९ गते सुनसरीको धरान, ०८० भदौ ४ र असोज २२ गते सर्लाहीको मलंगवा र ०८० असोज १६ गतेदेखि बाँकेको नेपालगञ्जमा कर्फयू आदेश जारी छ । जो हाम्रोजस्तो धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भएको मुलुकका लागि खतराको संकेत मान्न सकिन्छ ।

दुई महिनाको अवधिमा धार्मिक विषयलाई लिएर कुनै धार्मिक आस्था राख्ने समुदाय वा सम्प्रदाय आसनेसामने भएको स्थितिमा तत्काल नियन्त्रणका लागि निषेधाज्ञा प्रभावकारी भएपनि यस किसिमको समस्या समाधानका लागि निषेधाज्ञा रामवाण नहुने सबैले बुझ्न आवश्यक छ । नेपालमा यस्ता धेरै ओटा शहर छन् । जहाँ हिन्दू र मुस्लिम धर्म मान्ने समुदायको वसोवास घना छ । पश्चिम नेपालको नेपालगञ्जमा हिन्दू र मुस्लिम धर्म मान्ने समुदायको वसोवास बाक्लो छ भने पूर्वी नेपालको विराटनगर पनि उस्तै छ । यो समयमा विराटनगरले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको सन्देश देशभर फैलाउन जरूरी छ ।

बिहिबार, १८ असोज, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर