विकासको सोच परिवर्तन गरौ

  गणेश लम्साल

भदौ अन्तिम साता पूर्वको मनमोहक पहाडी जिल्ला इलामको सुन्दर र चर्चित ठाउँ सन्दकपुरको मुकाम देउराली बजारमा दुई दिन बस्ने अवसर जुर्याे । प्रेस सेन्टर नेपालले विकट पहाडको ग्रामीण पर्यटकीय क्षेत्रमा मिडिया सम्मेलनसहित तालिम आयोजना गरेर उक्त अवसर जुराएको थियो । सन्दकपुरको देउराली बजारमा स्थानीयले गरेको स्वागत, खुवाएको स्थानीय र अग्र्यानिक खाना र व्यवहारले बसाइ मन जति प्रसन्न भयो उति नै त्यति राम्रो ठाउँ पूर्वाधारकै कारण पछि परेको देख्दा सबै पत्रकारहरुको मन खिन्न पनि भयो । हुन त मिडिया सम्मेलन उदघाटन गर्न संघीय सरकारका सँस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती पुगेका थिए । प्रदेश सांसद, दलका नेतादेखि पालिकाका जनप्रतिनिधि आदि धेरैको जमघट भएको थियो ।

सन्दकपुरबासीले पहिलो पटक आइपुगेका नेता, पत्रकार र मन्त्रीहरुलाई गद्गद् हुँदै स्वागत मात्र गरेनन् प्राकृतिक स्रोत र सुन्दरताले धनी भएपनि विकासको अभाव झेलिरहेको सुनाए । सुनको कचौरा बोकेर भीख माग्न पर्खेका व्यक्ति झैं सन्दकपुरबासीको अवस्थाले नेता र पत्रकारहरुको मन अमिलीयो । किनभने अझै हामीले मालपाएर पनिपर्यटनलाई बिक्रि गरेर सम्वृद्ध बन्न सकिन्छ भनेर चाल नै पाएका रहेनछांै । सम्भावना बोकेका गन्दव्यहरु गुमनाम बनिरहेका रहेछन् । हामीले चाल नपाएर विदेशीहरुले पर्यटक पठाएर प्रचार गरिरहेका रहेछन् । यसैले हामीले नेपालको स्वर्ग भनेर सन्दकपुरलाई चिन्ने र हेर्ने मौका नै पाएका रहेनछौं ।

इलाम भन्ने बित्तिकै हामीले सुगम ठाउँमा रहेको सूर्योदयको कन्याम, फिक्कल र श्रीअन्तुलाई बुझ्ने रहेछौं । सानो पाथीभरा पुगेर धार्मिक पर्यटन गर्ने र चिसोमा खानपिन गरेर रमाएर फर्कने मात्रै गरेछौं । वास्तवमा पर्यटन भनेको घुमफिरसँगै प्राकृतिक सौन्दर्यता, स्थानीय रहनसहन, भाषासँस्कृति, खानापान र विकासको अवलोकन तथा अध्ययन पनि हो ।

यो मिडिया सम्मेलनबाट स्पष्ट भयो कि इलामको सौन्दर्यता कन्याम र अन्तुमा सीमित छैन माइपोखरी र सन्दकपुर त नबिर्सी उक्लनै पर्ने रहेछ ।
सन्दकपुर पालिकामा रहेको रामसार सूचीमा परिसकेको माईपोखरी आफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । त्यो जैविक विविधताको केन्द्र पनि रहेछ । सबै जाति र धर्महरुको धार्मिक स्थलका रुपमा समेत चर्चित माईपोखरी पुगेपछि त्यहाँको प्राकृतिक सौन्दर्यताले पुलकित बनाइहाल्दो रहेछ । चिसो र शुद्ध हावापानी भएको माइपोखरीमा एकछिन घुमेर फर्कन्छु भन्नेहरु पनि घण्टौंसम्म घुमेर पनि अघाउँदा रहेनछन् । अझै कसैलाई त घण्टौ पोखरीका डिलमा बसेर ध्यान गर्न मनलाग्दो रहेछ । यसैले अप्ठ्यारो बाटो पार गरेर घुम्न जानेहरु प्रसस्तै भेटिदा रहेछन् ।
विकट भएपनि सफा र चिटिक्क आर्कषक ढंगले बनाएका घरहरुमा सुविधासम्पन्न होटल र होमस्टे पर्याप्त रहेछन् । गाउँपालिकाको सहयोगमा १५ घरपरिवारले होमस्टे चलाएका रहेछन् । स्थानीयहरुले पाहुनालाई गर्ने स्वागत, सत्कार र खानपानमा कुनै गुनासो गर्ने बाटो नदिने रहेछन् ।
देउराली बजारमा दुई दिन बसे पनि नेपाल–भारत सिमानामा पर्ने देशकै चर्चित ३६३६ मिटर उचाइमा रहेको सन्दकपुर पुगेर चिवा भन्ज्याङ टेक्ने र धपधप बलेको सूर्य हेर्ने थुम्कीलाई आँखामा सजाउदै प्रसिद्ध कन्चनजंघालगायतका हिमाल हेर्ने धोको यस पटक पूरा हुन सकेन । किनकि सन्दकपुर पुग्न अरु ८ किलोमिटर कच्ची र विकट बाटो पार गर्न चानचुने कुरा थिएन । बर्खामा सवारी साधन नजाने भएकोले यात्रा सम्भव भएन ।

हिउँदको समयमा पनि साना ट्रयाक्टर र पहाडमा चल्ने ल्याण्डरोभर जिपमात्र पुग्ने भएकोले यो मौसममा त्यहाँ पुगेर रिपोर्टिङ गर्न सकिएन । हिउँदमा पनि झण्डै चार घण्टाको यात्रा गरेर मात्र त्यहाँ पुगिँदो रहेछ । नेपाल तर्फ पूर्वाधार अभाव हुँदा भारततर्फबाट सन्दकपुरमा सयौं यात्री आउँदा रहेछन् भन्ने सुन्दा नरमाइलो लाग्यो ।

सन्दकपुर पुग्ने दुईवटा बाटो रहेछ । एउटा इलाम बजारबाट माइपोखरी देउराली माइमझुवा हुँदै एक दिनको पैदलयात्रा गरेर वा जिप प्रयोग गरेर पुग्न सकिनेरहेछ । अर्को फिक्कल, पशुपतीनगर हुदै भारतीय भूमि प्रयोग गरेर मानेभन्ज्याङ हुँदै हिँडेर वा ट्याक्सीमा जानुपर्ने रहेछ ।नेपालको पूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपालभारतको पश्चिमबङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिने सुन्दर गनतव्य हो सन्दकपुर । यहाँबाट छेउमा उभिएर हात अघि बढाउँदा मात्रै पनि कञ्चनजंघा, कुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो अनुभुति हुन्छ अरे । यसैले सयौ पर्यटकहरु नेपालतर्फको बाटो विकट भएकोले भारतकै बाटो भएर सन्दकपुर पुग्दारहेछन् ।

स्थानीय र जनप्रतिनिधिहरुका अनुसार सडक बनाउन सक्दा धेरै पर्यटकलाई सन्दकपुर पुर्याउन सकिन्छ । जसले त्यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्छ । यसैले मेरो चाहना मात्र नभएर संघ र प्रदेश सरकारलाई आग्रह छ । पहिले आम्दानी वृद्धि गराउने पर्यटकीय क्षेत्रहरुको पुर्वाधारमा लगानी गरौं । ती गन्तव्यहरुमा चाँडो सडक, बिजुली, खानेपानी र इन्टरनेट लैजाउँ । यसमा गरेको लगानी खेर जाँदैन बरु प्रतिफल प्राप्त हुन्छ । सरकारले चाहँदा इलामदेखि सन्दकपुरको ३६ किलोमिटर सडक बनाउन गाह्रो छैन । यसैले अब हामीले पूर्वाधारका योजनाहरुलाई प्राथमिकता दिँदा पहिले उत्पादन दिने पर्यटकीय क्षेत्रहरु छान्नुपर्छ । यसो गर्दा बसाइँ सराइ पनि नियन्त्रण हुन्छ अनि आयआर्जन पनि बढाउन सकिन्छ । अब हामीले सोच बदल्नै पर्छ , ‘विकास सुविधासम्मपन्न भुगोलमा बस्नेहरुका लागि मात्र अरु सुविधा थप्नु होइन विकटमा बस्नेहरुको अधिकार सुरक्षित गर्नु पनि हो ।’

सोमबार, १५ असोज, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर