विमल लामिछाने
एकसाता अघि मात्रै धरानमा एउटा समूहले गोरुको मासु खाएको भिडियो सामाजिक सन्जालबाट सार्वजनीक गर्यो । यो भिडियो बाहिरिएपछि सन्जालमै त्यसकाविरुद्ध कडा प्रतिक्रिया पनि आए । सुरक्षा संयन्त्रले चासो दियो । फलत ‘गौरक्षा’ को वकालत गर्दै आएका हिन्दूवादी संघ–संस्थाहरुले झापा र मोरङ र सुनसरीका केही स्थानमा प्रदर्शन समेत गरे । धरानमा त्यस्तो प्रदर्शन भए प्रतिकार गर्ने चेतावनी पनि सामाजिक सन्जालबाटै प्रकट भइरहेको थियो । यस्तो अवस्थाबीच आयोजना हुने ‘धार्मिक र् याली’ ले दुर्घटना निम्त्याउने जोखिम आंकलन गरेर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गर्यो । यसर्थ धरानको नागरिक समाज, राजनीतिक दल, धार्मिक संघ–संस्था सबैले हरदम चनाखो र सजग रहन देशभरबाट सुझाव र प्रतिक्रिया आइनै रहे । धेरैजसो सामाजिक सञ्जालमा र समाचारहरुमा पनि धरानबासी नागरिकलाई जात वा धर्मका नाममा आपसमा भिडाउने घृणित योजना पूरा हुन दिइनु हुँदैन । जात वा धर्मका नाममा हुने झडप र तनावले बर्बादी सिवाय केही दिँदैन भनेर लेख्नेहरुको जमात ठूलै देखियो । यसले के संकेत गर्छ भने मुलुकमा जातीय सदभाव कायम राख्नु पर्छ भन्ने नै हो ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । यसको अलावा नेपाल बहुजाति, बहुभाषि, बहु सांस्कृतिक, बहु धार्मिक बहु भौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्याएको छ ।इतिहासदेखि वर्तमानसम्मको प्रमाणहरुले भन्छन्, धार्मिक, सामाजिक सद्भाव र सहिष्णुता नेपाली समाजको मौलिक चरित्र हो । यसलाई खलबल्याउने प्रयास गर्नेहरू कानुनका मात्र होइन समाजका पनि शत्रु हुन् । यसैले अहिले राज्य, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिका साथै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामा पनि गम्भीर संवेदनशीलता अत्यावश्यक देखिएको छ ।नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रुप नभइ एकताको रुप सौन्दर्यको आधार हो । नेपालमा अनेक जाति, जातिका भाषा संस्कृति छन् । तिनका आ–आफ्नै परम्परा छन् । सबैमा परम्परा, एकता, सहिष्णुता, परोपकारको भावना, सभ्यता, शिष्टता, सम्मान छ । सबै
धर्म संस्कृतिको सार आधार एउटै छ । तसर्थ विविधताभित्रको एकता नेपाली संस्कृतिको मुल मेरुदण्ड हो ।सबैको कल्याण गर्नु, सहयोग मित्रताको भावना राख्नु, शिष्ट आचरण, सभ्यता, सद्भाव, सेवा, सहकार्य, सुख–शान्ति आदि नेपाली संस्कृतिका मुख्य मुख्य विशेषता हुन् ।धार्मिक आस्था व्यक्तिको नितान्त निजी विषय हो । यसलाई राजनीतिक रंग दिने प्रयास धरानमा मात्र होइन मुलुकभर कहिँ कतैपनि हुनु हुँदैन ।धरानमा गोरुको मासु खाएको भनिएको भिडियो सार्वजनिक गर्नेहरुले सामाजिक सद्भावमा खलल आउला कि भन्ने सामान्य सोच राख्न सक्नुपर्ने थियो । त्यो अतिवादी कदम थियो । तर, एउटा अतिवादको उपचार अर्को अतिवादबाट खोज्नु हुँदैन । अहिले धरानमा धार्मिक जुलुस प्रदर्शन गर्नु, उग्र प्रतिक्रिया व्यक्त गर्नु अतिवादलाई उक्साउनु हो ।
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त सङ्घीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । संसारको भलो चाहनु संसारको जुनसुकै धर्मको मुख्य ध्येय हो । यही ध्येय अनुसार धार्मिक संस्थाहरु, व्यक्तिहरु तथा स्थानीयबासी पेश हुन जरुरी छ ।विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गर्दै अगाडि बढिरहेको छ । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेर बलियो राष्ट्र निर्माणको आधार सिर्जना गरेको छ । धर्मनिरपेक्षताको माध्यमबाट राज्यले प्रत्येक धार्मिक आस्थालाई स्वतन्त्रता दिएको छ तर एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको छ ।
धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । समभाव राख्नु पनि हो । सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्मावलम्बीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति हो–धर्म निरपेक्षता । राज्य वा समाजले कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने हो । धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रताको कुरा हो । व्यक्तिलाई आफूले विश्वास गरेको धर्म र धार्मिक क्रियाकलापको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता हुन्छ । आफ्नो स्वतन्त्रता उपभोग गर्दा अर्काको स्वतन्त्रता, आस्था, भावनामा चोट पु र्याउनचाहिँ पाइँदैन ।विश्व सन्दर्भलाई हेर्दा प्रायः भाषा, धर्म, जातीय परिचय, क्षेत्र र राजनीतिक भिन्नताका आधारमा द्वन्द्वहरू सिर्जना हुने र जनमत प्राप्त गर्न राजनीतिक व्यक्तिले ती द्वन्द्व भड्काउन खोज्ने गरेको देखिन्छ । पराईले स्वार्थ पूरा गर्न त्यस्ता मान्छेलाई उक्साउँछन् । सांस्कृतिक परिचयको संवेदनशील कुरा उठाउने सजिलो नाराले समाजमा सुषुप्त सदभाव र भाइचाराको नाता र प्रेम पनि घृणामा परिणत हुन पुग्छ जुनपछि सांस्कृतिक संहारमा परिणत हुन सक्छ । त्यस्तो अवस्था रोक्न अधिनायकवादी शासन निम्तिएका वा देश नै विखण्डनमा पुगेका कयौ उदाहरण पनि छन् ।
सांस्कृतिक विभेदका द्वन्द्व भड्किँदा गम्भीर संकटमा पुगेका विश्वका कैयौँ मुलुकको कहालीलाग्दो इतिहासबाट शिक्षा लिएर हामीले परम्परागत मितेरी, सद्भाव र परिपूरक व्यवहारको सम्बन्धमार्फत साझा नेपाली परिचय, संस्कृति अझ विकसित गर्नु सक्पर्छ । हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले नै प्रदर्शित गर्दै आएका छौँ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाटै समाधान गर्न सबै पक्ष लाग्नु पर्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने छ । यो जिम्मेवारी हामी सबैको हो ।
हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि हाम्रो पहिचान नेपाली हो । लोकतान्त्रिक हाम्रो समाज कुनै एकल जात, धर्म सम्प्रदाय र संस्कृतिको छैन । प्रत्येक बस्तीमा विविध जाति, धर्म संस्कृति, भाषीको अन्तरघुलन छ । सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता पाउन सक्दैन भन्ने कुरा इतिहासले पुष्टी गरिसकेको विषय हो ।हाम्रो राजनीतिक, धार्मिक आस्था, संस्कृति परम्परा भिन्न होला तर हामीलाई छिमेकी, नाता, कुटुम्ब, विवाह, पूजा, पर्व, पँधेराले आपसमा बाँधेका छन् । व्यक्तिगत स्वभाव र संस्कृतिले जेलिएको हाम्रो सामाजिक प्रव्रिmया राजनीतिक वा धार्मिक भिन्नताले पनि टुटाउन सकेको छैन । मुलुकले चाहेको विभाजन र विखन्डन होइन, एकता र सदभाव नै हो ।